काठमाडौँ । नेपालका ११ जिल्लामा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतका महानिर्देशक उमेश दाहालले सङ्क्रमण देखिए पनि सुरक्षित उपाय अपनाउँदा आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
दाहालका अनुसार यो रोग विशेषगरी जङ्गली पन्छी, अन्य चराचुरुङ्गी र कागबाट सर्ने गर्दछ। त्यसैले व्यावसायिक रूपमा पालिएका कुखुरालाई बाहिरी चराहरूबाट टाढा राख्न र फार्ममा बाहिरी पन्छी प्रवेश गर्न नदिन विभागले सबै कुखुरापालक व्यवसायीहरूलाई अनुरोध गरेको छ। फार्मको जैविक सुरक्षा नै यस रोगबाट बच्ने र व्यवसाय जोगाउने सबैभन्दा उत्तम उपाय भएको विभागको ठहर छ।
हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी ११ जिल्लामा बर्डफ्लूको सङ्क्रमण फेला परेको छ। यी मध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा रोग सुरुमै पहिचान भई नियन्त्रणको दायरामा ल्याइएको छ।
रोग नियन्त्रणलाई थप व्यवस्थित बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ स्थापना गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा सङ्क्रमित क्षेत्रहरूमा द्रुत गतिमा ‘बर्डफ्लू रोग नियन्त्रण अभियान’ सञ्चालन भइरहेको छ। बाँकी क्षेत्रमा पनि चाँडै रोग नियन्त्रणमा आउने महानिर्देशक दाहालले विश्वास व्यक्त गरेका छन्।
यसका साथै पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा सम्भावित जोखिम क्षेत्रहरूमा उच्च सतर्कता अपनाएका छन्। रोग भित्र्याउन नदिन अवैध रूपमा आयात गरिएका र शङ्कास्पद पन्छीहरूलाई फार्ममा प्रवेश नगराउन सुरक्षा निकायको सहयोगमा निगरानी गरिइरहेको छ।
पन्छीबाट मानिसमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि विशेष कदम चालेको छ। मन्त्रालयले सर्वसाधारणको मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्न थालेको छ, जसले आम नागरिक र किसानलाई रोगका लक्षण र बच्ने उपायबारे सजग गराउन ठूलो मद्दत पुर्याइरहेको दाहालले बताए।
विभागले फार्ममा नियमित रूपमा निसङ्क्रमण गर्न, अपरिचित व्यक्ति वा गाडीलाई फार्म भित्र प्रवेश नदिन र कुखुरामा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव दिएको छ। उपभोक्ताहरूलाई नडराउन र सही सूचनाको पालना गर्दै स्वस्थ उत्पादन बजारमा पुर्याउन विभागले अपिल गरेको छ।
