समाचार

बर्ड फ्लुबारे जनचेतना फैलाउन मोबाइल रिङटोनमार्फत सन्देश प्रसारण सुरु

By अर्जुन भट्टराई

बर्ड फ्लुबारे जनचेतना फैलाउन मोबाइल रिङटोनमार्फत सन्देश प्रसारण सुरु

काठमाडौं । देशका विभिन्न जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रसारण गर्न थालेको छ।

फोन गर्दा बज्ने रिङटोनमार्फत नागरिकलाई बर्ड फ्लुबाट जोगिने उपायबारे जानकारी दिइँदैछ। सङ्क्रमित, बिरामी वा मरेका चरा तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा नजिक नजान र शङ्का लागेमा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ। साथै, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र पन्छीको मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान पनि अनुरोध गरिएको छ।

बर्ड फ्लुसम्बन्धी थप जानकारी वा परामर्शका लागि हेलो स्वास्थ्यको टोल–फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका अनुसार, जनसाधारणमा अनावश्यक त्रास फैलिन नदिन र सङ्क्रमणको जोखिमबारे सही जानकारी पुर्‍याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो।

सरकारले सङ्क्रमित कुखुरा तथा अन्य पन्छी नष्ट गर्ने, प्रभावित क्षेत्रको निगरानी बढाउने, प्राविधिक टोली परिचालन गर्ने र जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउने अभियानलाई थप तीव्र बनाएको जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.