अर्थ

आन्तरिक पर्यटनले जीडीपीमा पु¥यायो २.६५ प्रतिशत योगदान

By अर्जुन भट्टराई

आन्तरिक पर्यटनले जीडीपीमा पु¥यायो २.६५ प्रतिशत योगदान

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण स्तम्भका रूपमा उदाउँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान पुर्‍याएको अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार सो आर्थिक वर्षमा नेपालको कुल जीडीपी ५४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको थियो । यसमध्ये आन्तरिक पर्यटनबाट मात्रै १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि भएको छ, जुन जीडीपीको २.६५ प्रतिशत हो ।

सर्वेक्षणका अनुसार सोही अवधिमा आन्तरिक पर्यटनमार्फत ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ बराबरको पर्यटकीय उपभोग भएको छ । यसबाट ३ खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको अनुमान गरिएको छ । उत्पादन प्रक्रियामा प्रयोग भएका वस्तु तथा सेवाको लागत अर्थात् मध्यवर्ती उपभोग १ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यो लागत कटाएपछि कुल मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ कायम भएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले यी तथ्यांकका आधारमा आन्तरिक पर्यटनले नेपालको अर्थतन्त्रमा उल्लेखनीय भूमिका खेल्दै आएको निष्कर्ष निकालेको छ । पछिल्ला वर्षहरूमा आन्तरिक यात्राको विस्तार, धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गन्तव्यप्रतिको बढ्दो आकर्षण र पर्यटनसम्बन्धी सेवाको व्यापक प्रयोगले आन्तरिक पर्यटनको आर्थिक योगदान निरन्तर वृद्धि भइरहेको सर्वेक्षणले संकेत गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.