अर्थ

प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन दिने म्याद असार ३० सम्म थपियो

By अर्जुन भट्टराई

प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन दिने म्याद असार ३० सम्म थपियो

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने म्याद थपिएको छ । बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकका अनुसार मागभन्दा बढी आवेदन परेमा भने तोकिएको मितिभन्दा अगावै सूचना प्रकाशित गरी डिबेञ्चर बिक्री बन्द गरिनेछ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा जम्मा ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । यसमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत बाँडफाँटका लागि छुट्याइएको छ भने बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि राखिएको छ । सर्वसाधारणतर्फको ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित छ ।

यो डिबेञ्चरको अवधि १० वर्ष हो र यसमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण निष्काशित कित्तासम्म आवेदन दिन पाउनेछन् ।

डिबेञ्चरको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडलाई दिइएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणालीबाट अनलाइन आवेदन दिन सकिन्छ ।

डिबेञ्चरबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि प्रचलित कर कटाएर लगानीकर्तालाई भुक्तानी गरिनेछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.