काठमाडौं । यतिबेला देशभर मनसुनी वायुको प्रभाव छ र यसले मौसममा ठूलो असर पारिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली क्षेत्रमा हिमपात पर्न सक्ने पनि जानकारी दिइएको छ ।
दिउँसोको समयमा देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुन सक्छ भने तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
आज रातिका लागि भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी जारी गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपात पर्ने सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरिएको छ ।
