दैलेख । कर्णाली राजमार्गमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रोबस दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल नदीमा डुबेको हो। गाडीमा चालकसहित पाँच जना सवार रहेको प्रारम्भिक विवरणले देखाएको छ। चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेको जानकारी पाइएको छ।
घटनाको सूचना पाउनासाथ सुरक्षाकर्मी र स्थानीयवासी उद्धारमा खटिएका छन्। हालसम्म एक जना पुरुष यात्रुलाई घटनास्थलबाट फेला पारी सडकतर्फ ल्याउने काम भइरहेको छ।
नदीमा डुबेको गाडी र अन्य बेपत्ता यात्रुहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ। घटनाको विस्तृत विवरण र पूर्ण क्षतिको जानकारी आउन बाँकी छ।
