काठमाडौं । सस्ता चिनियाँ उत्पादनसँगको कडा प्रतिस्पर्धाले नेपालका स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू कठिन अवस्थामा पुगेका छन् । यसको सबैभन्दा ठूलो मार नेपालकै पुराना ट्रान्सफर्मर ब्रान्डमध्ये एक ‘निक’ निर्माण गर्ने कम्पनीलाई परेको छ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हालै सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो कुल उत्पादन क्षमताको जम्मा सात प्रतिशत मात्र उपयोग गर्न सकेको छ । यो अघिल्लो आर्थिक वर्षको १७ प्रतिशतको तुलनामा झन्डै आधाभन्दा कम हो । वार्षिक १८ हजार युनिट ट्रान्सफर्मर उत्पादन गर्न सक्षम यो कम्पनीको क्षमताको ठूलो हिस्सा खाली रहँदा स्थिर लागत बढेको र नाफामा नकारात्मक असर परेको प्रतिवेदनले उल्लेख गरेको छ ।
कम्पनीको सञ्चालन आम्दानीमा पनि उल्लेख्य गिरावट आएको छ । आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी घटेर आर्थिक वर्ष २०८१/८२ मा करिब ९३ करोड ५० लाख रुपैयाँमा झरेको छ, अर्थात् एकै वर्षमा आधाभन्दा बढी राजस्व घटेको छ । नेपाल विद्युत् प्राधिकरणका ठूला आयोजनाबाट काम कम हुनु र कम्पनीको व्यवसाय मुख्यतः निजी क्षेत्रका साना आयोजनामा मात्र सीमित रहनु यसका प्रमुख कारण रहेका छन् ।
निर्यातको हकमा कम्पनीले लामो समयदेखि भुटानमा ट्रान्सफर्मर पठाउँदै आए पनि गत आर्थिक वर्षमा निर्यात अपेक्षाकृत कमजोर रह्यो । तथापि चालु वर्षमा पुनः निर्यात विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
व्यवसायमा केही सकारात्मक पक्ष पनि छन् । प्रतिवेदनअनुसार सन् २०२६ मेसम्मका लागि कम्पनीसँग करिब ९५ करोड ७० लाख रुपैयाँ बराबरका खरीद आदेश पहिले नै सुरक्षित भइसकेकाले आगामी अवधिमा आम्दानीमा केही सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि कच्चा पदार्थको मूल्यमा उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा हुने परिवर्तन र विदेशी उत्पादकसँगको मूल्य प्रतिस्पर्धा कायमै रहेसम्म स्वदेशी ट्रान्सफर्मर उद्योगको नाफामा उल्लेख्य सुधार आउन सहज नहुने प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
