समाचार

अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

By अर्जुन भट्टराई

अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत आएको एउटा कार्गो बाकस एक्स–रे जाँचमा शंकास्पद देखियो। सो बाकसमा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको थियो, तर खोल्दा भित्र फरकै सामग्री भेटियो।

जाँचका क्रममा म्यानिफेस्टमा उल्लेख नभएका ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परे। बरामद सामग्रीमा २२ थान ठूला र ४४ थान साना नौगेडी, १४ थान २१ गेडी नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८÷१८ थान सिङ्गल र डबल ब्रोच, ५ थान ठूला र २ थान साना शिरफूल, १६ थान नेपालको झण्डा अंकित ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार र १ थान त्रिशूल रहेका छन्।

प्रहरीका अनुसार यी सामग्री बौद्धस्थित युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएका थिए। घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गरगहना र पक्राउ परेका दुवै जनालाई थप कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.