समाचार

व्हाट्सएपमा फोन नम्बर नदेखाई कुराकानी गर्न सकिने ‘युजरनेम’ सुविधा आउँदै

By अर्जुन भट्टराई

व्हाट्सएपमा फोन नम्बर नदेखाई कुराकानी गर्न सकिने ‘युजरनेम’ सुविधा आउँदै

काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले अब फोन नम्बर नदेखाइकन पनि कसैसँग सम्पर्क गर्न सकिने नयाँ ‘युजरनेम’ सुविधा ल्याउने भएको छ । कम्पनीले यसको अग्रिम रिजर्भेसन प्रक्रिया समेत सुरु गरिसकेको छ ।

कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुर्‍याइनेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्छन्, जुन सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ ।

व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमा यो अपडेट प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याइएको बताएको छ । विशेषगरी अपरिचित व्यक्ति, ठूला समूह च्याट र व्यवसायसँगको कुराकानीमा अब फोन नम्बर देखिने छैन ।

कम्पनीले भनेको छ, ‘नयाँ व्यक्तिसँग भेट हुँदा फोन नम्बर दिनु ठूलो कुरा जस्तो लाग्न सक्छ, त्यसैले अब केवल कुराकानीका लागि फोन नम्बर अनिवार्य हुनेछैन ।’

सुरक्षाका दृष्टिले कम्पनीले ‘युजरनेम कि’ नामको अतिरिक्त सुरक्षा प्रणाली पनि ल्याउने जनाएको छ । यसअन्तर्गत कसैलाई सम्पर्क गर्न युजरनेम मात्र नभई थप कोड पनि आवश्यक पर्नेछ ।

यस प्रणालीमा सार्वजनिक डाइरेक्टरी वा सर्च सुझाव नहुने हुँदा अनावश्यक सन्देश आउने जोखिम पनि घट्ने कम्पनीको दाबी छ । युजरनेम अधिकतम ३५ अक्षरसम्मको हुन सक्नेछ, जसमा अक्षर, संख्या, डट र अन्डरस्कोर प्रयोग गर्न मिल्नेछ । प्रयोगकर्ताले चाहेको बेला युजरनेम परिवर्तन वा हटाउन पनि सक्नेछन् ।

व्यवसाय तथा क्रिएटरहरूले भने इन्स्टाग्राम र फेसबुकमा प्रयोग हुने युजरनेम नै व्हाट्सएपमा पनि सुरक्षित गर्न सक्ने सुविधा पाउनेछन् । यो सुविधा उपलब्ध भएपछि प्रयोगकर्तालाई इन–एप सूचनाका माध्यमबाट जानकारी दिइनेछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.