समाचार

पर्यटनको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्र सुदृढ हुनैपर्छ : मन्त्री पौडेल

By अर्जुन भट्टराई

पर्यटनको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्र सुदृढ हुनैपर्छ : मन्त्री पौडेल

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन क्षेत्रको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।

बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), नेपाल एयरलाइन्स र हवाई सेवासँग सम्बन्धित संस्थाहरूको विकास नभई पर्यटन क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने स्पष्ट पारे।

‘नेपालमा नागरिक उड्डयनसँग सम्बन्धित क्षेत्रको विकासबिना पर्यटनको दिगो विकास सम्भव देखिँदैन। क्यान मात्रै होइन, नेपाल एयरलाइन्स र अन्य हवाई सेवासँग सम्बन्धित संस्थाको विकास पनि उत्तिकै आवश्यक छ,’ उनले भने।

मन्त्री पौडेलले निजी क्षेत्रमाथि मात्र भर परेर पर्यटनको लक्ष्य हासिल नहुने बताउँदै पर्यटकको लक्षित संख्या भित्र्याउन स्पष्ट नीति र दीर्घकालीन योजना आवश्यक रहेको जोड दिए। उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकार सक्रिय रहेको र विदेशी वायुसेवा कम्पनी आकर्षित गर्न विभिन्न पहल भइरहेको पनि जानकारी दिए।

‘जहाज नेपाल ल्याउनु मात्रै हाम्रो उद्देश्य होइन। जहाज यात्रुले भरिएको हुनुपर्छ। विमानबाट ओर्लेका पर्यटक सिधै घर फर्किने होइन, होटल पुग्ने र नेपालमा बस्ने वातावरण बनाउनुपर्छ,’ मन्त्रीले थपे।

उक्त बैठकमा सन् २०२७ लाई ‘आरोग्य (वेलनेस) वर्ष’का रूपमा मनाउने तयारी र क्यान तथा मन्त्रालयलाई दिइएका निर्देशनको कार्यान्वयन अवस्थाबारे पनि छलफल भयो।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष राजवंशीले आन्तरिक उडानमा हुने लामो ढिलाइप्रति चिन्ता व्यक्त गरे। उनले मौसमी कारण बाहेक दुई–तीन घण्टासम्म उडान ढिला हुँदा पनि यात्रुलाई कुनै जानकारी नदिइने गुनासो गर्दै यसमा सुधार गर्न आग्रह गरे।

‘विराटनगर–काठमाडौं उडानको समय ३५ मिनेट भनिन्छ, तर धेरैजसो उडानमा ५०–५५ मिनेट वा एक घण्टासम्म लाग्छ। कहिलेकाहीँ विमान २० मिनेटसम्म आकाशमै होल्डमा राख्नुपर्ने हुन्छ। यात्रुले सुरक्षित र छिटो यात्राका लागि हवाई सेवा रोजेका हुन्, यसमा सुधार हुनैपर्छ,’ उनले भने।

सांसद राजवंशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अत्यधिक मूल्य असुलिने समस्याको पनि उठान गरे। ‘बाहिर २० रुपैयाँ पर्ने पानी विमानस्थलभित्र ६०–८० रुपैयाँमा बेचिन्छ। यस्तो लुटतन्त्रको अन्त्य हुनुपर्छ र सरकारले १५–२० दिन वा एक–दुई महिनाभित्र के सुधार गर्छ भन्ने स्पष्ट समयसीमा दिनुपर्छ,’ उनले माग राखे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.