काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङको आलुको परिकारमा साङ्ला भेटिएको उजुरी आएपछि सरकारी टोलीले आकस्मिक अनुगमन गर्यो। अनुगमनमा खाद्य सुरक्षा मापदण्डको गम्भीर उल्लंघन देखिएपछि उक्त प्रतिष्ठानलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा धेरै अनियमितता फेला परे। एक लिटरका तीन बोतल फ्रुट सिरपको म्याद सकिइसकेको थियो। करिब तीन किलो लेबलविहीन चाउमिन प्रयोगमा रहेको पाइयो। खानामा कृत्रिम खाद्य रङ मिसाइएको थियो। प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टोटल पोलार मेटेरियल (टिपिएम) मान ३३ रहेको थियो, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ। साथै फ्रिजको प्रयोग पनि अव्यवस्थित भेटियो।
यी अनियमितताका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो।
म्याद गुज्रिएका खाद्य सामग्री थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। उच्च टिपिएम मान भएको करिब एक लिटर प्रयोग गरिएको तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको विभागले जनाएको छ।
विभागले अदोरा होल्डिङलाई खाद्य स्वच्छता कायम राख्न, खाद्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र फ्रिजको प्रयोग व्यवस्थित गर्न निर्देशन पनि दिएको छ।
