मनोरंजन

नेशनल म्युजिक अवार्डको आठौं संस्करण असार २६ मा, १०० भन्दा बढी कलाकार सहभागी हुने

By अर्जुन भट्टराई •

नेशनल म्युजिक अवार्डको आठौं संस्करण असार २६ मा, १०० भन्दा बढी कलाकार सहभागी हुने

काठमाडौं । ‘नेशनल म्युजिक अवार्ड’को आठौं संस्करण आगामी असार २६ गते शुक्रबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी सार्वजनिक गर्‍यो ।

यस पटकको अवार्डमा १४ विधामा पुरस्कार प्रदान गरिने छ । साथै लाइफटाइम अचिभमेन्ट अवार्ड र ‘एक्सट्रिम इनरजेटिक पर्फमर अफ द इयर’ पुरस्कार पनि दिइने आयोजकले जनाएका छन् ।

पुरस्कृत हुने विधाहरूमा उत्कृष्ट नव गायक तथा गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक तथा गायिका, उत्कृष्ट पार्श्व गायक तथा गायिका, उत्कृष्ट पप गायक तथा गायिका, उत्कृष्ट साङ्गीतिक समूह, उत्कृष्ट हिपहप र आर.एन.बि, तथा उत्कृष्ट आधुनिक गायक तथा गायिका समावेश छन् । सङ्गीत तथा कलाको क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउनुभएका व्यक्तित्वलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइने छ, जसको पुरस्कार राशि १ लाख रुपैयाँ रहनेछ ।

स्रोताको सहभागिता सुनिश्चित गर्न पिपुल्स च्वाइस अवार्डको व्यवस्था पनि गरिएको छ । यसका लागि दर्शक तथा श्रोताले ई-सेवामार्फत भोट गर्न सक्नेछन् र सर्वाधिक भोट पाउने गीत तथा स्रष्टाले यो पुरस्कार पाउनेछन् ।

२०८२ वैशाख १ गतेदेखि २०८२ चैत्र मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूमध्येबाट विभिन्न विधाअन्तर्गत उत्कृष्ट पाँच जनाको मनोनयन तीन सदस्यीय जुरीले गरेको हो ।

साङ्गीतिक महोत्सवको रूपमा आयोजना हुने यस कार्यक्रममा जोन एण्ड द लोकल्स, दिपक बज्राचार्य, उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामा लगायत सयभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन् ।

कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले यो अवार्डलाई नेपाली सङ्गीत उद्योगको साझा थलो भएको बताउँदै यसलाई समग्र नेपाली सङ्गीतको उत्थान गर्ने कार्यक्रमका रूपमा हेर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.