काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौंदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको भाडा बक्यौता दुई सातामै असुल हुन थालेको छ। हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ संकलन भइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।
लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै केही उद्योगहरूले भाडा तिर्न बाँकी राखेका थिए। केही दिनअघि करिब ६३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना प्रकाशित गरिएको थियो, जसपछि अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन्।
मन्त्री यादवले तोकिएको समयभित्र भाडा नतिर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएपछि लिमिटेडले कडा कदम चाल्यो। सुरुमा झन्डै २ सय बढी उद्योगको विद्युत लाइन काटिएको थियो। ती उद्योगहरूले बक्यौता चुक्ता गरेपछि लाइन पुनः जोडिएको छ।
तर अझै ४५ वटा कम्पनीले भाडा तिरेका छैनन् र तिनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले बताए। मन्त्री यादवले बक्यौता पूर्ण रूपमा चुक्ता नहुञ्जेल लाइन नजोड्ने स्पष्ट निर्देशन दिनुभएको लिमिटेडले जानकारी दिएको छ।
बक्यौता राख्ने उद्योगमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.को करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा.लि.को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी छ। हाल यी दुवै उद्योगको पनि विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ।
भाडा तिर्न आनाकानी गर्ने र बाह्य दबाब हुँदाहुँदै पनि मन्त्री यादवको दृढ निर्देशनका कारण छोटो समयमै उल्लेखनीय बक्यौता असुल गर्न सकिएको महाप्रबन्धक ओलीले बताए।
