समाचार

रारा मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु, स्थानीय र पर्यटक खुशी

By अर्जुन भट्टराई

रारा मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु, स्थानीय र पर्यटक खुशी

मुगु । मुगुको रारा तालको प्रमुख पर्यटकीय गन्तव्य मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेपछि स्थानीयवासी र पर्यटकहरूमा खुसीयाली छाएको छ।

छायाँनाथ रारा नगरपालिका–९ मा पर्ने मुर्माटपमा नेपाल टेलिकमले फोरजी टावर निर्माण गरी असार १५ गतेदेखि तीव्र गतिको इन्टरनेट सेवा विस्तार गरेको हो। यस सेवाले रारा क्षेत्र र आसपासका स्थानीय नागरिक तथा पर्यटकहरूले सहजै फोरजी इन्टरनेट प्रयोग गर्न पाउने भएका छन्।

मुर्मा गाउँका स्थानीय बासिन्दा डवल रोकायाले इन्टरनेट सेवा सुरु भएपछि आफूहरू खुसी भएको बताउँदै रारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई पनि इन्टरनेट चलाउन अब सहज भएको जानकारी दिए।

नेपाल टेलिकम मुगुका निमित्त प्रमुख बिमल कुमार बुढाका अनुसार करिब सात–आठ वर्षदेखि लथालिंग अवस्थामा रहेको मुर्माटपको फोरजी टावर निर्माण कार्य पूरा गरी सेवा सुचारु गरिएको हो। थार्प टावरबाट रेडियो लिंकमार्फत मुर्माटप टावरमा जोडेर फोरजी सेवा सञ्चालनमा ल्याइएको उनले बताए।

तथापि, हाल सीमित सेवा मात्र सुरु गरिएको छ। सात–आठ वर्ष अघि खरिद गरिएका पुराना ब्याट्रीले पर्याप्त पावर धान्न नसक्ने भएकाले सेवाको दिगोपनमा चुनौती देखिएको छ। नयाँ ब्याट्री जडान गरेपछि मात्र सेवा भरपर्दो हुने बुढाले बताए। नयाँ ब्याट्री जडानका लागि ठेक्का प्रक्रिया भने अघि बढिसकेको उनको भनाइ छ।

भौगोलिक विकटताका कारण मुर्माटपमा केन्द्रीय विद्युत प्रसारण लाइन नहुँदा मौसम खराब हुँदा नेटवर्कमा समस्या आउने स्थानीयहरू बताउँछन्।

उल्लेखनीय छ, लामो समयदेखि टावर निर्माण प्रक्रिया सुरु भए पनि ठेकेदारको लापरवाहीका कारण काम अलपत्र परेको थियो। स्थानीयको दबाब र सामाजिक युवा अभियन्ता अनिल वाँनियाको पहलपछि नेपाल टेलिकमले काममा तीव्रता दिई सेवा सुचारु गरेको हो।

यस फोरजी सेवाबाट सिंगो मुर्मा गाउँ, रारा क्षेत्रका आसपासका बस्तीहरू, होटल, निकुञ्ज कार्यालय र त्यहाँ कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा पर्यटकहरू लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.