समाचार

बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको उद्घाटन, टेकपाइलाको आधिकारिक पार्टनर बन्यो

By अर्जुन भट्टराई

बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको उद्घाटन, टेकपाइलाको आधिकारिक पार्टनर बन्यो

बुटवल । लुम्बिनी क्षेत्रलाई आधुनिक डिजिटल हबका रूपमा विकास गर्ने लक्ष्यसहित बुटवलमा एक विशेष समारोहबीच लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन भएको छ।

यो सेन्टर प्रविधि क्षेत्रको प्रतिष्ठित संस्था टेकपाइला इनोभेसन्सको आधिकारिक पार्टनरको रूपमा सञ्चालनमा आएको हो। सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र डाटा साइन्स लगायतका कोर्सहरूको मार्गचित्र प्रस्तुत गरियो।

सेन्टरले उच्चस्तरीय सफ्टवेयर विकास, मोबाइल एप विकास, साइबर सुरक्षा परामर्श, डाटा सुरक्षा, आईटी इन्कुबेसन तथा स्टार्टअप इकोसिस्टम प्रवर्द्धन जस्ता सेवाहरू प्रदान गर्नेछ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्स बुटवल, रुपन्देहीका कार्यवाहक महासचिव शिव ज्ञवालीले सेन्टर र यसका संस्थापक अध्यक्षको दूरदर्शी सोचको प्रशंसा गरे। स्थानीय युवाहरूलाई प्रविधिको सीप सिकाएर आत्मनिर्भर बनाउने यो अभियान समग्र अर्थतन्त्रका लागि सकारात्मक रहेको उनले बताए।

साझेदारीलाई औपचारिकता दिँदै टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर एवं विशिष्ट अतिथि चिरञ्जीवी अधिकारीले लुम्बिनी टेक इनोभेसन सेन्टरलाई आधिकारिक पार्टनर सर्टिफिकेट हस्तान्तरण गरे। यस सहकार्यमार्फत बुटवल र वरपरका क्षेत्रमा प्रविधि विस्तार गर्ने सपना अब साकार हुने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै वेष्टर्न मेगा कलेजका प्रिन्सिपल किशु शर्माले दुबईको राम्रो अन्तर्राष्ट्रिय जागिर छोडेर आफ्नै गृहजिल्लामा फर्केर प्रविधि विकासमा लागिपरेका अध्यक्ष धन बहादुर रानाको त्याग र समर्पणको उच्च प्रशंसा गरे।

क्यान महासंघका सचिव नारायण श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य ध्रुब राज फुयाँल (सुदीप शर्मा) र क्यान महासंघ रुपन्देही शाखाका अध्यक्ष जीवन अधिकारीले रुपन्देही जिल्ला र समग्र लुम्बिनी क्षेत्रका स्थानीय प्रतिभाहरूलाई समेटेर आईटी सेवा प्रवाह गर्ने यस पहलको स्वागत गर्दै सेन्टरको पूर्ण सफलताको शुभकामना दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.