समाचार

धान दिवस औपचारिकतामा सीमित, किसानको खेतसम्म ज्ञान र प्रविधि पुर्‍याउनु जरुरी : डा. अधिकारी

By अर्जुन भट्टराई

धान दिवस औपचारिकतामा सीमित, किसानको खेतसम्म ज्ञान र प्रविधि पुर्‍याउनु जरुरी : डा. अधिकारी

काठमाडौं । नेपालमा असार १५ गते प्रतिवर्ष राष्ट्रिय धान दिवस मनाइन्छ। तर पछिल्ला वर्षहरूमा यो दिवस किसानलाई उत्पादन बढाउने सन्देश दिनेभन्दा पनि औपचारिक कार्यक्रम, फोटो खिच्ने र दही–चिउरा खाने रमाइलोमा मात्र सीमित हुँदै गएको छ। धान विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विष्णु विलास अधिकारीले यस्तो धारणा राखेका छन्।

तीन दशकभन्दा बढी धानबाली अनुसन्धानमा समर्पित डा. अधिकारीका अनुसार राष्ट्रिय धान दिवसको मूल उद्देश्य किसानलाई सही समयमा रोपाइँ गर्न, उन्नत बीउ, मल, सिँचाइ, यान्त्रीकरण र आधुनिक प्रविधिबारे सचेत गराउनु हो। तर अहिले यो मर्म कमजोर बन्दै गएको उनको गुनासो छ।

‘आजभोलि जुत्ता लगाएर खेतमा जाने, केही बेर प्रतीकात्मक रोपाइँ गर्ने, फोटो खिच्ने र दही–चिउरा खाने प्रवृत्ति बढेको छ,’ उनी भन्छन्, ‘वास्तविक किसानको खेतमा पुगेर उत्पादन कसरी बढाउने भन्ने सन्देश दिने काम भने कमजोर भएको छ।’

लमजुङको दुराडाँडामा जन्मिएका डा. अधिकारीले सर्वोदय माध्यमिक विद्यालयबाट एसएलसी, लमजुङ क्याम्पसबाट आईएससी (कृषि), रामपुरबाट बीएससी एजी र एमएससी एजी पूरा गरेका हुन्। एग्रोनोमी विषयमा विशेषज्ञता हासिल गरेका उनले स्नातकोत्तर तहदेखि नै धानबालीमा अनुसन्धान सुरु गरेका थिए।

अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (आईआरआरआई) को सहयोगमा उनले लमजुङ, तनहुँ र गोरखामा धानसम्बन्धी विभिन्न अनुसन्धान परियोजना सञ्चालन गरे। विशेषगरी ओझेलमा परेको घैया धानको संरक्षण र छनोटमा पनि उनले महत्वपूर्ण काम गरे। त्यसपछि आईआरआरआईकै आर्थिक सहयोगमा भारतको इलाहाबाद विश्वविद्यालयबाट पीएचडी गरेका उनको अनुसन्धानले नेपालमा सुक्खा सहन सक्ने धानका जात विकासमा उल्लेखनीय योगदान पुर्‍यायो।

सन् २०११ मा सार्वजनिक भएका सुक्खा धान–१, सुक्खा धान–२ र सुक्खा धान–३८८ जात विकासमा उनका अनुसन्धानका तथ्यांक उपयोग भएका थिए। सन् २०१४ मा थप सुक्खा धान–४, ५ र ६ समेत विकास भए, जसले जलवायु परिवर्तनका कारण बढ्दो खडेरीको जोखिम सामना गर्न नेपाली किसानलाई सहयोग पुर्‍याइरहेको छ।

डा. अधिकारीका अनुसार अहिले नेपालको धान खेतीमा सबैभन्दा ठूलो चुनौती जलवायु परिवर्तन हो। पहाडमा अत्यधिक वर्षाले तराईमा बाढी र डुबान ल्याउँछ भने कतिपय वर्ष लामो खडेरीले रोपाइँ नै प्रभावित हुन्छ। यही चुनौतीलाई ध्यानमा राखी सुक्खा, डुबान र लामो समय पानीमा डुबेर पनि उत्पादन दिनसक्ने धानका जात विकासमा अनुसन्धान भइरहेको उनले बताए।

‘हाम्रो प्राथमिकता नै सुक्खा हो,’ उनी भन्छन्, ‘नेपालमा वर्षेनी खडेरीको समस्या दोहोरिने भएकाले त्यहीअनुसारका जात विकासमा धेरै काम भइरहेको छ।’

हाल त्रिभुवन विश्वविद्यालयमा कार्यरत उनी स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीलाई अनुसन्धानमा मार्गदर्शन गर्दै नयाँ पुस्ताका कृषि वैज्ञानिक तयार पार्ने काममा सक्रिय छन्। तर कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्दै गएको उनको विश्लेषण छ। गुणस्तरीय पूर्वाधार, प्रयोगशाला, अनुसन्धान सुविधा र दक्ष जनशक्तिको अभावका कारण विद्यार्थी विदेशतर्फ आकर्षित भएका छन्।

‘हामीले आवश्यकताभन्दा धेरै कृषि क्याम्पस खोल्यौं तर गुणस्तरमा ध्यान दिएनौं,’ उनी भन्छन्, ‘रोजगारीको सुनिश्चितता र अनुसन्धानको वातावरण कमजोर हुँदा विद्यार्थी विदेश गइरहेका छन्।’ अहिले धेरै निजी कृषि क्याम्पस विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका भए पनि गुणस्तरीय शिक्षा दिन सकिए कृषि अझै राम्रो भविष्य बनाउने विषय भएको उनको विश्वास छ।

धान उत्पादन बढाउन सरकारी प्रयास भइरहेको स्वीकार गर्दै डा. अधिकारीले कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताए। उन्नत बीउ, अनुदान, यान्त्रीकरण र आधुनिक प्रविधि विस्तारका कार्यक्रम सुरु भए पनि त्यसको प्रभाव किसानसम्म पूर्ण रूपमा पुग्न नसकेको उनको भनाइ छ। विशेषगरी रासायनिक मलको अभाव ठूलो समस्याका रूपमा कायमै रहेको उनले जनाए।

‘सरकारले पर्याप्त मल मौज्दात रहेको भन्छ, तर किसानले रोपाइँको समयमा मल पाउँदैनन्,’ उनी भन्छन्, ‘त्यो किन भइरहेको छ भन्ने विषयमा सरकारले गम्भीर निगरानी गर्नुपर्छ।’ किसानले सही समयमा, सही मात्रामा र उचित मूल्यमा मल पाए उत्पादन स्वतः बढ्ने उनको तर्क छ।

असार १५ ले सम्पूर्ण नेपालीलाई रोपाइँको समय भएको सन्देश दिने भन्दै उनले यस दिवसको महत्व पनि औंल्याए। पहाड र तराईमा रोपाइँको समय केही फरक भए पनि असार १५ प्रतीकात्मक रूपमा सबैलाई कृषि अभियानमा जोड्ने दिन भएको उनको भनाइ छ।

‘हामी सबै भात खाने मानिस हौं,’ उनी भन्छन्, ‘त्यसैले धान उत्पादन बढाउने अभियानमा किसान मात्र होइन, सरकार, अनुसन्धानकर्ता, विश्वविद्यालय, विद्यार्थी र समाजका सबै क्षेत्र एकजुट हुनुपर्छ।’ जलवायु परिवर्तनको चुनौती सामना गर्न उन्नत बीउ, पर्याप्त सिँचाइ, मल, यान्त्रीकरण र आधुनिक प्रविधि प्रभावकारी रूपमा किसानसम्म पुर्‍याउन सके नेपाल धान उत्पादनमा आत्मनिर्भर बन्ने सम्भावना बलियो रहेको उनको विश्वास छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.