काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न र ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच सोमबार काठमाडौंमा रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौता कार्यक्रममा दुवै संस्थाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको सुनिश्चितता र नेपाललाई विदेशी विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा विकास गर्न सँगसँगै काम गर्ने प्रतिबद्धता जनाए।
यस सम्झौताअनुसार इक्यानका सदस्य शैक्षिक परामर्श संस्थाहरूले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थाहरूमा सञ्चालित शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति र करियरका अवसरबारे प्रत्यक्ष र अद्यावधिक जानकारी पाउनेछन्। यसले विद्यार्थी तथा अभिभावकलाई थप तथ्यपरक, विश्वसनीय र गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्न सहज हुने विश्वास गरिएको छ।
दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी र शैक्षिक कूटनीतिलाई सशक्त बनाउने सहमति जनाएका छन्। साथै, क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक अभिमुखीकरण, नीतिगत संवाद, बीटुबी नेटवर्किङ र अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनलगायतका कार्यक्रमहरू पनि संयुक्त रूपमा सञ्चालन गर्ने व्यवस्था छ।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक रूपमा कमजोर, प्रतिभाशाली तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई आइप्यानका सदस्य संस्थाहरूमार्फत छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउने विषयमा पनि सहकार्य गर्ने सहमति भएको छ।
समझदारीपत्र हस्ताक्षर समारोहमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण के.सी.ले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाए।
