समाचार

दही–चिउरा केवल परम्परा होइन, वैज्ञानिक रूपमा पनि स्वास्थ्यवर्धक छ : डा. उप्रेती

By अर्जुन भट्टराई

दही–चिउरा केवल परम्परा होइन, वैज्ञानिक रूपमा पनि स्वास्थ्यवर्धक छ : डा. उप्रेती

काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवसका दिन दही–चिउरा खाने चलन नेपाली संस्कृतिको अभिन्न हिस्सा हो । तर यो परम्परा केवल सांस्कृतिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले पनि स्वास्थ्यका लागि लाभदायी रहेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बताएकी छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. उप्रेतीले भनिन् कि दहीले पेटको स्वास्थ्य र पाचन प्रणालीलाई सुदृढ बनाउँछ भने चिउराले पर्याप्त ऊर्जा प्रदान गर्छ । यी दुवैको संयोजनले यसलाई असार १५ मा मात्र नभई वर्षभरि खान योग्य स्वस्थकर भोजन बनाउँछ ।

दहीमा प्रोबायोटिक्स अर्थात् लाभदायी जीवाणु हुन्छन्, जसले पाचन प्रणाली सन्तुलित राख्न र पेटको स्वास्थ्य सुधार्न मद्दत गर्छन् । डा. उप्रेतीका अनुसार नेपाली भोजन संस्कृतिमा परापूर्वकालदेखि दही र मोहीको विशेष स्थान यसैकारण रहँदै आएको हो ।

उनले भनिन्, ‘दही भनेको शरीरको स्वास्थ्यलाई राम्रो बनाउने खानेकुरा हो । यसले पेटको स्वास्थ्यलाई एकदम राम्रो बनाउँछ । त्यसैले पहिलेदेखि नै दही र मोही हाम्रो भोजनको अभिन्न अंग थिए ।’

ऐतिहासिक सन्दर्भमा पनि यो परम्पराको व्यावहारिक आधार छ । असार महिनामा धान रोपाइँको कठिन श्रम गर्ने किसानहरूका लागि दही–चिउरा उपयुक्त ऊर्जा स्रोत थियो । पहिले बजारमा खानेकुरा सहज उपलब्ध नहुने भएकाले लामो समयसम्म नबिग्रिने चिउरा र दही खेतसम्म लैजान सजिलो हुन्थ्यो ।

उनले थपिन्, ‘चिउरा लामो समयसम्म बिग्रँदैन । यसमा पर्याप्त कार्बोहाइड्रेट, ऊर्जा, केही प्रोटिन र अन्य पोषक तत्व हुन्छन् । दहीसँग खाँदा यसले शरीरलाई आवश्यक ऊर्जा दिनुका साथै पाचन प्रणालीलाई पनि राम्रो बनाउँछ ।’ गर्मी मौसममा किसानहरूलाई डिहाइड्रेसनबाट बचाउन पनि दही, मोही र चिउरा खाने चलन विकसित भएको उनको भनाइ छ ।

फलफूल मिसाएर खानु झन् लाभदायी

हाल दही–चिउरामा विभिन्न फलफूल मिसाएर खाने चलन बढ्दै गएको छ । यसबारे डा. उप्रेतीले यो झन् राम्रो भएको बताइन् । उनले भनिन्, ‘पहिला फलफूल मिसाएर खाने चलन थिएन । अहिले स्वस्थकर खानेकुरासँग फलफूल वा अन्य परिकार मिसाएर खानु राम्रो कुरा हो ।’

तौल नियन्त्रणमा सहयोगी, तर सर्तसहित

दही–चिउराले तौल घटाउन सहयोग गर्छ भन्ने धारणा आंशिक रूपमा सही भएको डा. उप्रेतीले स्पष्ट पारिन् । उनका अनुसार यो खाँदा थोरै खाए पनि पेट भरिएको अनुभव हुन्छ र लामो समयसम्म भोक लाग्दैन, जसले बढी खाने बानी कम गर्छ । तर उनले सचेत गराइन्, ‘दही–चिउरा खाएर फेरि अन्य धेरै क्यालोरीयुक्त खाना खाइयो भने तौल घट्दैन ।’

तनाव हटाउने दाबी वैज्ञानिक होइन

दही–चिउराले तनाव र चिन्ता हटाउँछ भन्ने दाबीलाई भने उनले वैज्ञानिक रूपमा पुष्टि नभएको बताइन् । उनले भनिन्, ‘कुनै पनि स्वस्थकर खानेकुराले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर दही–चिउरा खाँदैमा तनाव वा चिन्ता हट्छ भन्ने होइन । मानसिक स्वास्थ्यका लागि जीवनशैली, नियमित आहार, पर्याप्त निद्रा र अन्य स्वस्थ बानीहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।’ साथै उनले दही–चिउरालाई सबै रोगको औषधि वा चमत्कारी भोजन ठान्न नहुने पनि स्पष्ट पारिन् ।

वर्षभरि खाऔं, बालबालिकालाई जंकफुडबाट टाढा राखौं

डा. उप्रेतीले दही–चिउरा असार १५ मा मात्र सीमित नराखी हप्तामा एक–दुई पटक नियमित रूपमा खान सुझाव दिइन् । विशेष गरी बालबालिकालाई चाउचाउ, बिस्कुट वा जंकफुडको सट्टा यस्ता परम्परागत पौष्टिक भोजन खुवाउन उनले जोड दिइन् ।

उनले भनिन्, ‘यसले उनीहरूलाई सानैदेखि राम्रो भोजन संस्कृति र स्वस्थ जीवनशैली सिकाउँछ ।’ अन्तमा उनले सबै नेपालीलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्वको शुभकामना दिँदै परम्परागत स्वस्थकर भोजनलाई दैनिक जीवनमा अपनाउन आग्रह गरिन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.