काठमाडौं । नेपालमा धान उत्पादन बढ्दै गए पनि देश अझै खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा धानबाली विज्ञ प्राध्यापक डाक्टर विष्णु विलास अधिकारीले यस्तो बताएका छन् ।
प्राडा अधिकारीका अनुसार खेतीयोग्य जमिन घट्दै जानु, सिंचाइको अभाव, जलवायु परिवर्तन र रासायनिक मलमा बढ्दो निर्भरता नेपालको धान खेतीका प्रमुख चुनौती हुन् ।
धानमै विद्यावारिधी गरेका प्राडा अधिकारीले पहिले करिब १५ लाख हेक्टरमा धान खेती हुने गरेकामा अहिले घडेरी, सडक विस्तार र बस्ती विकासका कारण घटेर करिब १४ लाख २० हजार हेक्टरमा मात्र खेती हुन थालेको बताए ।
गत आर्थिक वर्षमा करिब ५९ लाख ६० हजार टन धान उत्पादन भई औसत उत्पादकत्व ४.१९ टन प्रतिहेक्टर पुगेको उनले जानकारी दिए । यो अघिल्लो वर्षको तुलनामा बढी भए पनि यसको मुख्य कारण पर्याप्त वर्षा र केही क्षेत्रमा सुधारिएको सिंचाइ व्यवस्था रहेको उनले स्पष्ट पारे ।
‘हाम्रो उत्पादन त्यति नराम्रो होइन, तर उत्पादकत्व अझै कम छ,’ उनले भने, ‘नेपालमा सुनिश्चित सिंचाइ सुविधा सीमित भएकाले उत्पादन धेरै हदसम्म मनसुनमा निर्भर छ ।’ उनका अनुसार करिब ३०–३५ प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिंचाइ सुविधा पुगेको छ, बाँकी क्षेत्र वर्षाको भरमा निर्भर छ ।
जलवायु परिवर्तनले पनि धान खेतीमा गम्भीर असर पारिरहेको उनले बताए । समयमा पानी नपर्नु, रोपाइँको बेला खडेरी पर्नु र काट्ने समयमा अत्यधिक वर्षा हुनु जस्ता समस्याले उत्पादन घटाउने गरेको उनको भनाइ छ ।
मल व्यवस्थापनमा पनि नेपाल कमजोर रहेको उनले बताए । देशमा मल उद्योग नहुँदा विदेशबाट आयात गर्नुपर्ने र किसानहरू सन्तुलित मल प्रयोगभन्दा युरियामा मात्र बढी भर पर्दा माटोको गुणस्तर ह्रास हुँदै गएको उनको चिन्ता छ । ‘माटोमा प्रांगारिक पदार्थको मात्रा घट्दै गएको छ । यसलाई सुधार नगरेसम्म दीर्घकालीन उत्पादन वृद्धि सम्भव छैन,’ उनले भने ।
नेपालले हरेक वर्ष करिब ४५–५० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरिरहेको उनले जानकारी दिए । भारतले सुगन्धित धानबाहेक अन्य धान निर्यातमा कडाइ गरेको सन्दर्भमा उनले भविष्यमा पैसा भए पनि खाद्यान्न किन्न नपाउने अवस्था आउन सक्ने चेतावनी दिए ।
हाइब्रिड धान जातप्रति किसानको आकर्षण बढ्दै गए पनि अधिकांश बीउ भारत र चीनबाट आयात हुने गरेकाले लागत बढी पर्ने उनले बताए । हाइब्रिड खेतीसँगै रासायनिक मलमा निर्भरता बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको उनले चेतावनी दिए ।
किसानको लागत बढे पनि उत्पादनको उचित मूल्य नपाएकोमा उनले चिन्ता व्यक्त गरे । ‘किसानको अवस्था बुझेर मूल्य निर्धारण नगरेसम्म उत्पादनमा स्थायित्व आउँदैन,’ उनले भने ।
साथै प्राडा अधिकारीले धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेकोमा पनि सचेत हुन आग्रह गरे ।
कृषि क्षेत्र सुधारका लागि उनले सिंचाइ विस्तार, मल उद्योग स्थापना, गुणस्तरीय बीउ वितरण र किसान तालिमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । ‘उन्नत बीउ मात्र प्रयोग गर्दा पनि १५ देखि २५ प्रतिशतसम्म उत्पादन बढाउन सकिन्छ,’ उनले भने ।
जुम्ली मार्सी र छुम्रुङ जस्ता स्थानीय धान जातको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउँदै उनले मकै, गहुँ, कोदो, फापर र चिनो जस्ता वैकल्पिक अन्नको प्रयोग बढाएर खाद्य सुरक्षा बलियो बनाउनुपर्नेमा जोड दिए ।
अन्तमा उनले युवाहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्नुपर्ने बताए । ‘देशको कृषि विकास बुढाबुढीले होइन, युवायुवतीले गर्ने हो । विदेशिएका युवालाई फर्काएर आधुनिक कृषि प्रविधिसहित उत्पादनमा जोड्नुपर्छ,’ उनले भने ।
