समाचार

बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने

By अर्जुन भट्टराई

काठमाडौँ । गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप नयाँ जडान गरी पानी ल्याउनका लागि निर्देशन दिएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक लगायतको टोलीले आज बिहान ४ बजे पानी ल्याउन सफल भएको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।

आज बिहान कीर्तिपुरस्थित सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको उक्त पानी बाढी पसेका कारण फोहर भएकाले त्यहाँका खानेपानीका टयाङ्की सफा गरी पानी प्रशोधन गरेर वितरण गर्न मन्त्री यादवले निर्देशन दिनुभएको प्रमुख कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

अहिले सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा दैनिक ६५ लाख लिटर पानी आइरहेको र उक्त पानी बल्खु, कुमारी क्लब, टेकु, सबल बहाल लगायतका क्षेत्रमा वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक एवं प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । बाढीले ललितपुरको नख्खु खोलामा बगाएको ४०० एमएमको करिब २५० मिटर नयाँ पाइप जडान गरि आज बिहान सुन्दरीघाट पानी प्रशोधन केन्द्रमा पानी ल्याइएको केयुकेएलले जनाएको छ ।

मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ५२५ खानेपानी आयोजनामा क्षति पुर्याएको खानेपानी मन्त्रालयले जनाएको छ । बाढीले क्षति गरेका खानेपानीका ती आयोजनाको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुनर्स्थापना प्रक्रिया सुरु गरिसकेको जनाइएको छ । रासस

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.