समाचार

बाँकेमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड बढ्याे

By अर्जुन भट्टराई

बाँके । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार तीमध्ये ५४ हजार तीन सय ३३ जनाले जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचयपत्रका लागि रजिस्ट्रेसन गराएको र अन्यले विभिन्न वडामा रजिस्ट्रेसन गराएका छन् ।

परिचयपत्रका लागि रजिस्ट्रेसन गराएर नम्बर लिएर जाने धेरै भए पनि परिचयपत्रको कार्ड लिन आउने भने निकै कम सङ्ख्यामा रहेका छन् । जिल्ला प्रशासन कार्यालयमा तयार भएर आएका ३४ हजार दुई सय ५१ परिचयपत्रका कार्डमध्ये सात हजार सात सय ४५ कार्ड मात्र सम्बन्धित व्यक्ति लिन आएको प्रजिअ रिजालले बताए।

छब्बीस हजार पाँच सय छ कार्ड जिल्ला प्रशासनमा आए पनि सम्बन्धित व्यक्ति लिन नआउँदा वितरण हुन बाँकी रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी–९ तथा नरैनापुर गापाका वडा नं १, २, ३, ४ र ५ का लागि ‘रजिस्ट्रेसन’ को काम भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.