समाचार

बागलुङमा दुई लाख १६ हजार पशुलाई लगाइयो खोप

By अर्जुन भट्टराई

ढोरपाटन । बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो ।


पशु प्राविधिकले किसानका गोठमै पुगेर भैँसी, राँगा, गार्ई, गोरु, बाख्रा, बुङ्गुर, कुकुरलगायत पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाएका हुन् । सबैभन्दा बढी भेडाबाख्रा र सबैभन्दा कम बुङ्गुरलाई खोप लगाइएको   हो । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार एक लाख १७ हजार पाँच सय ६७ भेडाबाख्रा र दुई हजार एक सय १० बुङ्गुरमा खोप लगाइएको छ ।

यस्तै, २१ हजार पाँच सय ४६ गाईगोरु, ४९ हजार नौ सय ४६ भैँसीराँगा, नौ हजार सात सय ५० कुकुरलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सूचना अधिकारी केशवराज शर्माले जानकारी दिए । पशुचौपायामा देखिने खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पिपिआर र स्वाइन फिभरलगायत खोप लगाइएको उनको भनाइ छ । विज्ञ केन्द्रले अगुवा कृषकसँग छलफल गरी स्थानीय तहका पशुचौपायाको तथ्याङ्क सङ्कलन गरेर किसानका घरघरमै पुगेर खोप लगाउने शर्माले जानकारी दिए ।

केन्द्रबाट हरेक स्थानीय तहमा दुई समूहमा खटिएका प्राविधिक तथा स्वास्थ्यकर्मीको टोलीले १५÷१५ दिनसम्म घरदैलोमै खोप अभियान सञ्चालन गरेका थिए । जिल्लाका दूरदराजसम्म पुगेर प्राविधिकले पशुचौपायालाई खोप लगाउनुपर्ने हुँदा गत माघबाट खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

उनले भने, “खोप अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै वडामा ८५ जना प्राविधिक खटाएका थियौँ, उनिहरुले किसानका गोठसम्मै पुगेर पशुचौपायालाई खोप लगाएको थियो, अघिल्ला वर्षहरुमा पशुलाई खोप लगाउँदा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने किसानहरु पनि यस वर्ष उत्साहका साथ अभियानमा सहभागी हुनुभयो, गत वर्ष पशुमा देखिएको लम्पी स्किन रोगका कारण किसानले धेरै नोक्सानी ब्यहोर्नु परेको थियो ।”

खोप अभियान सञ्चालनका लागि सरकारले रु एक करोड ४० लाख बजेट विनयोजन गरेकामा रु एक करोड १० लाख खर्च भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए । उनले पछिल्लो समय किसानमा पशुचौपायलाई खोप लगाउनुपर्छ भन्ने चेतनाको वृद्धि भएको बताए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.