समाचार

कृषिमा छाडा चौपाया र बजारीकरण प्रमुख समस्या

By अर्जुन भट्टराई

भजनी । कैलालीको टीकापुर नगरपालिका–२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ । त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आएकी सरिताले यसपाली हिउँदे खेती लगाइनन्, खेत बाँझै रह्यो ।

छाडा पशु चौपायाको सास्तीले उनले खेती नलगाएको हो । उनले हिउँदे खेती नलगाउँदा अहिले २० हजारको गहुँ खरिद गरेकी छिन् । “आफ्नो जग्गा बाँझो राखेर अरुबाट खाद्यान्न किन्नुपरेको छ । यो सबै छाडा पशुचौपायाका कारण भएको हो”, उनले भनिन्, “खेती लगायो भने चौपायालाई ठिक्क हुन्छ ।”
    
केराखेती गर्दै आएका चक्रबहादुर घर्तीमगरले कृषि पेसाबाट किसानले उत्पादन गरे पनि छाडा चौपायका कारण बर्सेनि खेतीयोग्य जमिन खाली हुने अवस्थामा पुगेको  बताएका छन् । चौपाया व्यवस्थापन नभएसम्म कृषकको लगानी खेर जाने उनको भनाइ छ ।
    
टोल विकास संस्थाकी अध्यक्ष मायादेवी सोनाहाले अरुको जग्गा भाडामा लिएर कृषि गर्दै आएकि छिन् । उनको परिवार नै कृषिमा आश्रित छ । व्यावसायिक कृषि गर्दै आएको उनि पनि छाडा पशुचौपायाले कृषि पेसाबाट विस्थापित हुने अवस्थामा पुगेकी छिन् ।

“दुनियाँका चौपाया ल्याएर हाम्रो वडामा व्यवस्थापन गरिएको छ । त्यो नामको मात्रै व्यवस्थापन हुँदा किसानले खेती गर्न छोडेका छन्”, मायादेवीले भनिन् “यदि गौशाला व्यवस्थापन गर्न सक्यो भने कृषिमा ठूलो सम्भावना छ ।” 
    
टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्दै आएको छ । गौशाला आसपासका किसानलाई गौशालाबाट आउने चौपायाले हैरान बनाएको छ । जुन गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका करिब एक हजारभन्दा बढी चौपाया व्यवस्थापन गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.