जीवनशैली

सुदूरपश्चिम र कर्णालीका छ जिल्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिँदै

By अर्जुन भट्टराई

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न छ पहाडी जिल्लाका नागरिकलाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलले यही वैशाख १५ गतेदेखि बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

सो शिविरका लागि प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका डा सुनिलकुमार शर्माको नेतृत्वमा उक्त मेडिकल कलेजका २५ जना विशेषज्ञ चिकित्सक सहभागी हुने मेडिकल कलेजका महाप्रबन्धक तुलसीबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १३ गते डोटीको दिपायल, १५ गते बाजुराको पिलुचौर, १७ गते हुम्लाको सर्केघाट, १९ गते मुगुको गमगढी र २१ गते कालीकोट र जुम्लालाई पायक पर्ने गरी कालीकोटको नाग्ममा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिने छ ।

कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट वञ्चित ती जिल्लाका नागरिकलाई निःशुल्करुपमा स्वास्थ्य सेवा पु-याउने उद्देश्यले उक्त बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको सांसद डा शर्माले बताए । उनका अनुसार उक्त स्वास्थ्य शिविरमा सर्वसाधारण नागरिकलाई उपचार हुनसक्ने जति सेवा प्रदान गरिने छ ।

शिविरमा उपचार हुन नसक्ने मिर्गौला, मुटु, हाडजोर्नी, नशासम्बन्धी, प्रसूति तथा स्त्रीरोगजस्ता रोगका गम्भीर अवस्थाका बिरामीलाई काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलमा ल्याई जटिल प्रकारका शल्यक्रियालगायतका उपचार सेवा निःशुल्करुपमा उपलब्ध गराइने पनि डा शर्माले बताए ।

यस मेडिकल कलेजले मानवीय सेवाभावलाई केन्द्रमा राखी विगत लामो समयदेखि नेपालका दुर्गम जिल्लाहरुमा पुगेर गरिब तथा निम्नआय भएकालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.