नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पो यसपटक अझ व्यवस्थित, प्रविधिमैत्री र उपभोक्तामुखी बनाउने तयारी गरेको छ । एक्स्पो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
गत वर्ष पहिलो पटक आयोजना गरिएको मोबिलिटी एक्स्पोबाट प्राप्त अनुभव र सुझावलाई समेट्दै यस वर्ष पार्किङ, फुड कोर्ट, सहज आवागमनदेखि अपांगता भएका तथा ज्येष्ठ नागरिकका लागि समेत विशेष सुविधा थप गरिएको नाइमाका रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छाले बताएका छन् ।
आकाश गोल्छाले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पहिलो संस्करणमा नयाँ अवधारणाका रूपमा सुरु गरिएको एक्स्पोले राम्रो प्रतिक्रिया पाएको र यसपटक त्यसलाई थप परिस्कृत गरिएको बताए । उनका अनुसार यसपटक शोमा ४० भन्दा बढी मोडलका सवारीसाधन प्रदर्शन हुनेछन् भने करिब पाँचवटा नयाँ ब्रान्डसमेत सहभागी हुँदैछन् ।
‘पहिलो पटक गर्दा धेरै कुरा सिक्ने अवसर मिल्यो । यसपटक त्यही अनुभवका आधारमा साना–साना कुरामा सुधार गरेका छौँ,’ उनले भने, ‘आगन्तुकको अनुभव राम्रो बनाउन पार्किङ, फुड कोर्ट, स्टल व्यवस्थापन, हावाको व्यवस्थापनदेखि ह्वीलचेयर प्रयोग गर्ने व्यक्तिले पनि सहज रूपमा पूरा शो अवलोकन गर्न सक्ने व्यवस्था गरेका छौँ ।’
उनका अनुसार नाइमा मोबिलिटी एक्स्पो कुनै एउटा कम्पनी वा ब्रान्डलाई प्राथमिकता दिने कार्यक्रम नभई सबै प्रदर्शकका लागि समान अवसर दिने साझा मञ्च हो । पेट्रोलियम सवारी, विद्युतीय सवारी, कमर्सियल गाडी, पिकअप तथा भ्यानलगायत सबै प्रकारका सवारी उत्पादक तथा वितरकले आफ्ना उत्पादन उपभोक्तामाझ प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
उनका अनुसार मोबिलिटी शो केवल गाडी किनबेच गर्ने थलो मात्र नभई ज्ञान र प्रविधि आदानप्रदान गर्ने प्लेटफर्मसमेत बन्नेछ । शो अवधिभर ब्याट्री व्यवस्थापन, बैंकिङ तथा सवारी वित्तीय व्यवस्था, दुर्घटना व्यवस्थापन, प्राथमिक उपचार, मेकानिक तालिमलगायत विभिन्न विषयमा छलफल तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछन् ।
ट्राफिक प्रहरी, विद्यार्थी, अटोमोबाइल क्षेत्रमा काम गर्ने प्राविधिक, नीति निर्माता तथा सर्वसाधारण सबैका लागि उपयोगी हुने गरी कार्यक्रम तयार गरिएको उनले बताए । दुर्घटना भइसकेपछि जीवन कसरी जोगाउने भन्ने विषयमा समेत प्रशिक्षण दिइनेछ।
गोल्छाले विद्युतीय सवारी (ईभी) को विस्तारसँगै चार्जिङ पूर्वाधार पनि क्रमशः विकास हुँदै गएको बताए । उनका अनुसार केही वर्षअघिसम्म सीमित रेन्जका कारण चार्जिङ स्टेशन आवश्यक भए पनि अहिलेका नयाँ मोडलमा ब्याट्री क्षमता उल्लेख्य रूपमा बढेको छ।
‘अहिलेका धेरै ईभीले काठमाडौं–पोखरा–काठमाडौं एकै चार्जमा यात्रा गर्न सक्छन् । त्यसैले चार्जिङ पूर्वाधार ठूलो समस्या बन्ने अवस्था छैन,’ उनले भने । उनले मनाङ यात्राको उदाहरण दिँदै स्थानीय व्यवसायी र होटलहरूले समेत चार्जिङ सुविधा थप्दै गएको बताए ।
गोल्छाले अहिले सवारीसाधन खरिदका लागि बैंकबाट हुने वित्तीय सुविधा ६० प्रतिशतमा सीमित रहेको भन्दै यसलाई बढाउनुपर्ने धारणा राखे । बजारमा तरलता पर्याप्त रहेको अवस्थामा अटो फाइनान्सिङ बढाउँदा बैंक, सरकार र उपभोक्ता सबैलाई फाइदा पुग्ने उनको तर्क छ ।
नाइमाले अटोमोबाइल क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको गोल्छाले बताए । प्राविधिक तालिम, कलेजसँगको सहकार्य, ट्राफिक प्रहरीलाई प्रशिक्षण तथा आपत्कालीन अवस्थामा सहयोगलगायतका कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उनले जानकारी दिए ।
उनले मोबिलिटी शोमा सहभागी भएर नयाँ प्रविधि, करियर अवसर र अटोमोबाइल क्षेत्रका सम्भावनाबारे जानकारी लिन सबैलाई आग्रह गरे । ‘यो केवल गाडी हेर्ने ठाउँ होइन, नयाँ ज्ञान, प्रविधि र अवसर बुझ्ने ठाउँ पनि हो,’ गोल्छाले भने ।
