वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासनका अनुसार निषेधाज्ञा आज साँझ ५ देखि भोलि शुक्रबार बिहान ६ बजेसम्म लागू रहने हो । यस क्षेत्रमा पाँच जना भन्दा बढी मानिसहरु जम्मारभेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
प्रशासनका अनुसार उक्त आदेशको उद्देश्य शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नु रहेको छ । प्रशासनले निषेधाज्ञाको पालना गर्न सबै नागरिकसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
