जेन–जी अभियन्ता मिरज ढुंगानाले वर्तमान राजनीतिक घटनाक्रम, सुरक्षा अवस्था, रोजगारी संकट र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आन्दोलनको मर्मअनुसार काम गर्न सरकारलाई आग्रह गरेका छन् । जेन–जी अभियन्ताहरूको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ढुंगानाले भारत भ्रमणका क्रममा त्यहाँको जेन–जी आन्दोलनबारे जानकारी लिने अवसर नपाएको बताए । उनले भारतमा भएको युवा आन्दोलनको सफलताप्रति आफूहरू खुसी रहेको उल्लेख गर्दै कुनै पनि देशका युवाले परिवर्तनका लागि हासिल गरेको उपलब्धिप्रति सम्मान रहेको बताए । उनले भने, ‘_आफ्नो आन्दोलन सफल हुनु राम्रो कुरा हो, तर त्यसका लागि अरूलाई होच्याउने वा कमजोर देखाउने आवश्यकता हुँदैन_’ । ढुंगानाले भारतबाट फर्किने क्रममा सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा भएको सामुदायिक द्वन्द्व र गोली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गरे । उनले स्थानीय तहदेखि सुरक्षा निकायसम्म सम्भावित द्वन्द्वबारे सूचना पुगेको भए पनि समयमै आवश्यक कदम नचालिएको आरोप लगाए । ढुंगानाले धार्मिक तथा सामुदायिक द्वन्द्व दोहोरिन नदिन राज्य थप सचेत हुनुपर्ने बताए । साथै समाजमा धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिए । उनले विदेश रोजगारीका लागि जाने युवाहरूको अवस्थालाई उल्लेख गर्दै सरकारले देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले कतार जान लागेका केही नेपाली श्रमिकसँग भेट भएको प्रसंग सुनाउँदै उनीहरूमा देशमै अवसर नपाउने निराशा देखिएको बताए । ‘_यो आन्दोलनको एउटा मुख्य मर्म यही देशमा बसेर गरी खान पाउने अवस्था सिर्जना गर्नु हो,’ उनले भने । उनले पछिल्ला आत्महत्याका घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै यसलाई सामाजिक र आर्थिक निराशाको संकेतका रूपमा बुझ्नुपर्ने बताए । ढुंगानाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसके आन्दोलनको मर्मविपरीत जाने अवस्था सिर्जना हुने र त्यसको विरोधमा आफूहरू उभिने चेतावनी दिए ।
आन्दोलनको मर्मअनुसार काम गर्ने आग्रह
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
