समाचार

मानव बेचबिखनका चुनौती बढायो

By अर्जुन भट्टराई •

मानव बेचबिखनका चुनौती बढायो

हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन्। उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे। मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले अहिले युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरू मानव बेचबिखनको जोखिममा परिरहेको बताए। आजको परिस्थितिमा चेलीबेटी बेचबिखनमा मात्र संसार सीमित छैन। चेलीबेटी बेचबिखनभन्दा पनि मानव बेचबिखनका घटनाहरू बढिरहेका छन, जहाँ युवाहरू, बालबालिका र विभिन्न आवरणमा मानिसहरूलाई विदेश पु¥याएर बेच्ने तथा शोषण गर्ने अपराधिक गतिविधि विस्तार भइरहेको छ। उनले मानव बेचबिखनसँग सम्बन्धित चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएको र यसको नियन्त्रण नेपाल प्रहरीका लागि समेत ठूलो चुनौती बनेको बताए। आधुनिक प्रविधि, विशेषगरी मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले ठगी तथा मानव बेचबिखनका घटनालाई थप बढावा दिएको बताए। प्रविधिले मानव जीवनलाई सहज बनाएको भए पनि त्यसको गलत प्रयोगले समाजमा गम्भीर विकृति सिर्जना गरिरहेको उनको टिप्पणी थियो। मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.