समाचार

सुनसरीमा दुई समुदायबीच झडप : प्रहरीको गोली लागी एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

By अर्जुन भट्टराई •

सुनसरीमा दुई समुदायबीच झडप : प्रहरीको गोली लागी एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यरातिमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीगरी थप २२ जना घाइते भएका छन्। स्थिति गम्भीर बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

प्रहरीका अनुसार आइतबार राति करिब १०:१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए। त्यही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भयो र क्रमशः झडपमा परिणत भयो।

स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरियो। दुवै पक्षबाट ढुंगामुढा, लाठी, बाँस र भालाले आक्रमण हुन थालेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गर्यो।

सोही गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। तर राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेको सुनसरी प्रहरीका निमित्त प्रमुख डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनामा नौ जना सर्वसाधारण घाइते भएका छन् र उनीहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यसका साथै नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना र सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

घटनापछि बसेको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्र तथा देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गर्ने निर्णय गरेको छ। कर्फ्यु अवधिभर ती क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेलामा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्नेविरुद्ध स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.