बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७औँ स्थानमा रहेको गौमूल गाउँपालिकाले भौगोलिक विकटता, न्यून जनसंख्या र सीमित बजेटका बाबजुद पूर्वाधार, सामाजिक विकास र सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको छ।
गौमूल गाउँपालिका–४ का वडाध्यक्ष अमर विकले नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा भने, ‘संघीय संरचना लागू भएपछि स्थानीय सरकारले जनताका साना समस्या आफैँ समाधान गर्न सक्ने भएको छ, भने ठूला योजनाहरू प्रदेश र संघीय सरकारमार्फत कार्यान्वयन हुँदैछन्।’
**बजेटमा न्याय चाहिन्छ दुर्गम क्षेत्रलाई**
वडाध्यक्ष विकका अनुसार बाजुराजस्तो दुर्गम जिल्लालाई अन्य जिल्लाको तुलनामा बढी बजेट पाउनु जरुरी छ। तर भौगोलिक विकटता र कम जनसंख्याका कारण संघीय तथा प्रदेश सरकारबाट अपेक्षित बजेट विनियोजन भइरहेको छैन। उनले दुर्गम क्षेत्रको वास्तविक आवश्यकता र लागतलाई आधार बनाएर बजेट वितरण हुनुपर्नेमा जोड दिए।
**सडक, खानेपानी र विद्युत्मा उल्लेखनीय प्रगति**
उनले जानकारी दिए अनुसार हाल वडा नम्बर १ बाहेक बाँकी पाँचवटै वडामा कच्ची सडक पुगिसकेको छ र चालु आर्थिक वर्षभित्रै वडा नम्बर १ सम्म पनि सडक विस्तार गर्ने लक्ष्य छ।
खानेपानीका ९० प्रतिशतभन्दा बढी आयोजना सम्पन्न भइसकेका छन्। सबै बस्तीमा विद्युत् पुगेको छ। दसियाको अस्पताललाई राष्ट्रिय प्रसारण लाइनसँग जोड्ने ठेक्का प्रक्रिया पूरा भई हाल पोल गाड्ने काम भइरहेको छ। यस्तै, दूरसञ्चार सेवा विस्तारका लागि टेलिफोन टावर निर्माण भइरहेका छन् र अधिकांश क्षेत्रमा फोन सेवा सहज बन्दै गएको छ। विद्यालय र स्वास्थ्य संस्थाका आधारभूत भवन निर्माण पनि सम्पन्न भइसकेका छन्।
तथापि, ठूला खोला तथा नदीमा मोटरेबल पुल नहुँदा वर्षभरि सहज यातायात सञ्चालन गर्न अझै चुनौती कायमै रहेको उनले बताए।
**प्रदेश सरकारसँग प्राथमिकताको बेमेल**
प्रदेश सरकारले गाउँपालिकाको प्राथमिकताभन्दा बाहिरका योजना बढी पठाउने गरेको उनले बताए। विकले भने, ‘जनताले प्रत्यक्ष लाभ पाउने र गाउँपालिकाले प्राथमिकता दिएका योजनालाई प्रदेश सरकारले पहिलो ठाउँमा राखेर बजेट विनियोजन गर्नु आवश्यक छ।’
**विपद् व्यवस्थापन र प्रशासनिक पारदर्शिता**
न्यायिक तथा प्रशासनिक कामकाज पारदर्शी र विवादरहित ढंगले भइरहेको उनले जानकारी दिए। विपद् व्यवस्थापनका लागि गाउँपालिका र सबै वडामा समिति गठन गरिएको छ। पूर्वतयारी, तालिम, उपकरण व्यवस्थापन र टोलस्तरसम्म सम्पर्क व्यक्ति तोकेर समन्वयको व्यवस्था मिलाइएको छ।
यद्यपि, नियमित लेखापालको अभाव र प्रमुख प्रशासकीय अधिकृत दुर्गम क्षेत्रमा आउन नचाहने प्रवृत्तिका कारण आर्थिक प्रशासन र विकास निर्माणका काममा केही ढिलाइ हुने गरेको उनले स्वीकार गरे।
**सामाजिक क्षेत्रमा पनि सकारात्मक बदलाव**
महिला सशक्तीकरण, घरेलु हिंसा न्यूनीकरण, मदिरा व्यवस्थापन र बालबालिका लक्षित कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। विकले भने, ‘छाउपडी गोठ भत्काउने अभियान प्रभावकारी बनेको छ, जातीय विभेदमा कमी आएको छ र नयाँ पुस्तामा सकारात्मक सोचको विकास भइरहेको छ।’
**आगामी योजना**
गाउँपालिकाको प्रशासकीय भवन र वडा नम्बर ४ मा निर्माणाधीन फन पार्क अन्तिम चरणमा पुगेका छन्। अस्पताल भवन निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको छ। आगामी प्राथमिकतामा सबै वडा कार्यालयसम्म मोटरेबल सडक विस्तार, वर्षैभरि चल्ने मोटरेबल पुल निर्माण र दुर्गम बस्तीमा आधारभूत सेवा सहज रूपमा पुर्याउने रहेको वडाध्यक्ष विकले बताए।
