काठमाडौं । नेपालमा बालविवाहको समस्या आज पनि पूर्णरूपमा अन्त्य भएको छैन। सहरी क्षेत्रमा यो प्रथा धेरै हदसम्म घटेको भए पनि दूरदराजका गाउँहरूमा अझै यसको जरा गहिरो छ। नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ लगायत सरकारी तथा राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन अनुसार नेपालमा बालविवाहको दर हाल ३५ प्रतिशत रहेको छ। नेपालको कानुनले २० वर्षमुनिको विवाहलाई बालविवाह मान्दछ, जुन दण्डनीय अपराध हो।
यस सन्दर्भमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यले निम्न सचेतनामूलक नाटक तयार पारिएको छ।
—
**जनचेतनामूलक नाटक: सीताको पीडा**
**पात्रहरू:**
– बुवा र आमा
– सीता — १६ वर्षकी विद्यार्थी छोरी
– इष्टमित्र (काका) — विवाहको प्रस्ताव लिएर आउने छिमेकी
—
**पहिलो दृश्य**
दूरदराजको एउटा गाउँ। बर्खाको मौसम, चारैतिर हरियाली र धान–कोदोका खेत। घरभित्र १६ वर्षकी सीता छिन्। हातमा कोसेली बोकेर इष्टमित्रहरू ढोकामा आइपुग्छन्।
**इष्टमित्र:** (बाहिरबाट) यो घरमा कोही हुनुहुन्छ? बाहिर आउनुस् न!
**बुवा:** (खुसी हुँदै बाहिर आउँदै) हजुर, भन्नुस्! ओहो, साँझको बेला तीनजना पाहुना आउनुभएछ!
**इष्टमित्र:** भित्रै बसाउनुहुन्छ कि बाहिरै कुरा गरौँ, सम्दीज्यू?
**बुवा:** आउनुस् न, भित्रै बसौँ। बर्खाको मौसम, कहिले झरी पर्छ ठेगान छैन।
सबैजना भित्र जान्छन्। इष्टमित्रले कोसेली राख्छन् र कुरा सुरु हुन्छ।
**इष्टमित्र:** सम्दीज्यू, अब ढिला नगरी हजुरकी छोरी सीतालाई मेरो घरमा भित्र्याउनुपर्छ। उमेर पनि पुगिसक्यो!
**बुवा:** हो नि। १५ पुगेर १६ लागिसकी, यही वर्षभित्रै विवाह गरिदिने सोचेको छु।
**इष्टमित्र:** ढिलो गर्नु हुँदैन, नत्र उमेर छिप्पिन्छ!
त्यही बेला कामबाट फर्किएकी सीता आइपुग्छिन्।
**सीता:** नमस्कार काका! आज त पाहुना आउनुभएछ।
**इष्टमित्र:** हो नानी, तिम्रै भविष्यको कुरा गर्न आएको।
—
**दोस्रो दृश्य**
साँझ पर्छ। विवाहको कुरा गम्भीर बन्दै जान्छ। सीताले बुझेर आपत्ति जनाउन थाल्छिन्।
**बुवा:** छोरी, अब तिमी ठूली भइसक्यौ। उहाँको छोरासँग तिम्रो विवाह पक्का गर्न उहाँहरू आउनुभएको हो।
**सीता:** नाइँ बुवा! म पढेर नर्स बन्ने सपना देखेकी छु। अहिले विवाह गर्दा मेरो पढाइ बर्बाद हुन्छ। कृपया अहिले यो कुरा नगर्नुहोस्।
**इष्टमित्र:** नर्स किन, डाक्टर नै पढाउँला। तर मेरो छोरासँग विवाह त गर्नैपर्छ।
**सीता:** काका, म अझै सानी छु। भर्खर १६ वर्ष पुगेँ। मलाई अहिले विवाह गर्ने कुनै इच्छा छैन।
**इष्टमित्र:** १७ पुगिसकेपछि केटी मान्छे छिपिन्छ नि!
**सीता:** बुवा, मलाई पढेर समाजको सेवा गर्ने रहर छ। सानै उमेरमा विवाह गराउने यही चलनले हाम्रो समाज पछाडि परेको हो। कानुनले पनि विवाहको उमेर २० वर्ष तोकेको छ!
**आमा:** छोरी, यो कानुन पछि बनाएको हो। जति छिटो विवाह गर्यो, त्यति राम्रो। छोरी मान्छेले पराई घर जानैपर्छ, किन ढिलो गर्नु?
**सीता:** (रुँदै) आमा, तपाईंले १३ वर्षमा विवाह गरेर के पाउनुभयो? भर्खर ३५ वर्ष लाग्दै हुनुहुन्छ, तर देख्दा ७० वर्षकी जस्ती देखिनुहुन्छ। बच्चा पाउँदा कतिपटक गर्भपतन भयो, कतिजना शिशु मरे। अन्त्यमा म र भाइ मात्र बाँच्यौँ। यो सब तपाईंको शरीर परिपक्व नभएका कारणले भएको हो। अझै गर्वले भन्नुहुन्छ कि १३ वर्षमै विवाह गरेँ भनेर!
सीता रुँदै आफ्नो कोठामा जान्छिन्।
**बुवा:** (इष्टमित्रलाई) तपाईंहरू जानुस्। म छोरीलाई सम्झाउँछु। एक हप्ताभित्र विवाहको तयारी गर्नुस्।
—
**तेस्रो दृश्य**
भोलिपल्ट बिहान, सीता फेरि आमाबुवालाई बुझाउन प्रयास गर्छिन्।
**सीता:** बाबा–आमा, तपाईंहरूले नबुझे कसले बुझ्छ? पल्लो घरकी दिदीको विवाह भएको एक वर्ष नपुग्दै बच्चा जन्माउने क्रममा ज्यान गयो। सानै उमेरमा शरीर कमजोर हुन्छ, प्रसूतिमा ज्यानै जान्छ। स्कुलमा सर–म्यामले पनि बालविवाहका भयानक परिणाम सिकाउनुभएको छ। भोलि मेरो पनि त्यही हाल हुन्छ कि?
**आमा:** छोरी, गाउँका मान्छेले कुरा काट्लान्। हामी त तिम्रो भलाइ चाहन्छौँ।
**सीता:** आमा–बुवा, धेरै सन्तानमध्ये हामी दुई मात्र जीवित छौँ। हामीलाई साँच्चै माया गर्नुहुन्छ भने अहिले विवाहको कुरा नगर्नुहोस्। उमेर पुगेपछि म आफैँ सक्षम भएर विवाह गर्छु।
सीता बाहिर जान्छिन् तर आमाबुवाको कुरा सुन्छिन्।
**बुवा:** छोरीले ठिकै कुरा गरी, तर मेरो साथीले चित्त दुखाउला कि?
**आमा:** कुरा राम्रो छ, तर समाजले के भन्छ? बिहे नै गरिदिम। एक–दुई दिन नमान्ला, पछि बानी परिहाल्छ।
**सीता:** (बाहिरबाट सुनेर रुँदै) मेरा आमाबुवा नै मेरा शत्रु बन्नुभयो! अब म कसलाई गुहारूँ? यही गाउँमा कतिपय दिदीबहिनीहरू मृत्युसँग लडिरहेका छन्। भोलि त्यही अवस्था मेरो पनि आउनेछ!
—
**अन्तिम दृश्य**
आमाबुवाको दबाबका कारण अन्तमा सीताको इच्छाविरुद्ध धुमधामसँग बालविवाह गरिन्छ। विवाहपछि सानै उमेरमा उनी गर्भवती हुन्छिन्। स्याहारसुसार पाउने उमेरमा घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा पर्छ। न पोषिलो खानेकुरा पाइन्, न स्वास्थ्य जाँच हुन्छ। श्रीमान् रोजगारीका लागि विदेश जान बाध्य हुन्छन्। प्रसव वेदना सुरु हुँदा नजिकैको स्वास्थ्य चौकी पुर्याइन्छ, जहाँ अत्यधिक रक्तस्रावका कारण सीताले अकालमै प्राण गुमाउँछिन्।
—
के हाम्रो समाजले आज पनि बालविवाहको यही भयानक परिणति चाहेको हो?
दूरदराजका गाउँहरूमा आज पनि बालविवाहले धेरै किशोरीहरूलाई अकालमै मृत्युको मुखमा धकेलिरहेको छ। कानुनले यसलाई पूर्ण रूपमा निषेध गरे पनि प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन।
कागजमा मात्र सीमित कानुनलाई गाउँ–गाउँसम्म कडाइका साथ लागू गर्नु अत्यावश्यक छ। बालविवाह गराउने जोसुकैलाई पनि कानुन बमोजिम कडा कारबाही हुनुपर्छ, ताकि अर्को कुनै सीताले आफ्नो सपना र ज्यान अकालमै गुमाउन नपरोस्।
