समाचार

सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ, पिकअप गाडी पनि जफत

By अर्जुन भट्टराई •

सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ, पिकअप गाडी पनि जफत

सर्लाही । सर्लाही प्रहरीले ३३० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको गोप्य सूचना प्राप्त भयो । सूचनाको आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरियो ।

प्रहरी निरीक्षक कैलाश चौधरीको कमान्डमा खटिएको टोलीले उक्त कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गर्यो । त्यही स्थानमा २६ वटा बोरामा राखिएको करिब १३ क्विन्टल अदुवा पनि फेला पर्यो ।

घटनामा प्रयोग भएको बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गाँजा, पिकअप गाडी र पक्राउ परेका अमरजित राउतविरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.