काठमाडौं । सरकारले एक रुपैयाँको सिक्काको नयाँ डिजाइन स्वीकृत गरेको छ। यस नयाँ डिजाइनमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गरिने भएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत यो डिजाइन अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंकमा कार्यान्वयनका लागि पठाइसकिएको छ।
यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्वीर राखिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो। तर मन्त्रिपरिषद्ले सो प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएको थियो। त्यसपछि नयाँ डिजाइनमा आकाश भैरवको चित्र समावेश गरिएको हो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ वा परिमार्जित डिजाइन मन्त्रिपरिषद्बाटै स्वीकृत हुनुपर्ने व्यवस्था छ। नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा यथावत् राखिनेछ भने सिक्काको आकार र तौलमा पनि परिवर्तन गरिने छ।
हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का बनाउँदा उत्पादन लागत अंकित मूल्यभन्दा बढी पर्ने समस्या छ। यसलाई समाधान गर्न नयाँ सिक्कामा मिश्रित धातुको सट्टा स्टिल प्रयोग गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ। स्टिलको प्रयोगले उत्पादन खर्च घट्नुका साथै यो वातावरणीय दृष्टिले पनि उपयुक्त र दीर्घकालीन रूपमा फाइदाजनक हुने अपेक्षा गरिएको छ।
सांस्कृतिक पक्षलाई निरन्तरता दिँदै नयाँ सिक्कामा परम्परागत रूपमा राखिँदै आएका ६४ वटा थोप्ला पनि यथावत् राखिनेछन्। यी थोप्लालाई ६४ योगिनीको प्रतीकका रूपमा लिइन्छ। राष्ट्र बैंकका अनुसार सिक्कामा राखिने चित्र तथा चिन्हहरूले नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रतिबिम्बित गर्नेछन्।
