काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा हरेक वर्षा याममा भीषण डुबान हुने गरेको छ । यसको मुख्य कारण पूर्वाधार निर्माणमा भएको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको एक प्राविधिक प्रतिवेदनले खुलासा गरेको छ ।
साउन ५ गते झरी परेपछि माइतीघर क्षेत्र डुबानमा परेको थियो । त्यसपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनमा कार्यरत विभिन्न निकायका प्रमुख र प्रतिनिधिसहित स्थलगत अनुगमन गरिएको थियो । अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् ।
सोही निर्देशनअनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा एक समिति गठन गरियो । काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ यस टोलीका सदस्य थिए । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो ।
**ढल प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि**
प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि रहेको छ । माइतीघर क्षेत्रमा प्रवेश गर्ने ढलको माथिल्लो भाग ९० सेन्टिमिटर चौडा छ, तर तल्लो भागमा पुग्दा यो ६० सेन्टिमिटरमा साँघुरिएको छ । माथिबाट आउने ठूलो परिमाणको पानीलाई साँघुरो तल्लो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’को समस्या उत्पन्न हुन्छ र पानी सडकमा उर्लिन थाल्छ ।
त्यसमाथि, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै सडक र बस्तीतिर फर्कने ‘ब्याकफ्लो’को समस्याले पनि माइतीघर जलमग्न हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
**प्राकृतिक जलशोषक क्षेत्रको विनाश**
वातावरणीय र सहरी विकासका कारणहरू पनि डुबानका लागि उत्तिकै जिम्मेवार रहेको प्रतिवेदनले औँल्याएको छ । विगतमा माइतीघर चोकसँग जोडिएका खुला क्षेत्रहरूले वर्षाको पानी जमिनमुनि सोस्ने ‘प्राकृतिक जलाधार’को काम गर्थे । तर अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयलगायत ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकिएको छ । यसले गर्दा पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भई सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढेको र त्यो पानी सिधै माइतीघर चोकमा केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।
**अतिक्रमण र फोहरले थप जटिल बनाएको समस्या**
अतिक्रमणको समस्या पनि डुबानमा उत्तिकै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत तथा सरकारी भवनका संरचनाहरू निर्माण भएको पाइयो, जसले नियमित सरसफाइमा अवरोध पुर्याएको छ । यसका साथै ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुंगागिट्टी थुप्रिँदा पानीको बहाव झनै अवरुद्ध भएको प्रतिवेदनमा उल्लेख छ ।
