समाचार

‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ हुने घोषणा, देशभरका ५०० भन्दा बढी क्रिएटर सहभागी

By अर्जुन भट्टराई •

‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ हुने घोषणा, देशभरका ५०० भन्दा बढी क्रिएटर सहभागी

काठमाडौं । नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ। आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको यो कार्यक्रम नेपालमा कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुने पहिलो अवार्ड कार्यक्रम रहेको आयोजकको दाबी छ।

गत जेठ महिनामा आवेदन आह्वान गरिएकोमा देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले आफ्नो कन्टेन्ट पठाइसकेका छन्। निर्णायक समूहले प्राप्त कन्टेन्टको मूल्यांकन गरी उत्कृष्ट १०० जनालाई फाइनल चरणमा प्रवेश दिनेछन्। आयोजकले आगामी साता मनोनयन सूची सार्वजनिक गर्ने जनाएका छन्।

ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा हुनेछ, जहाँ १० वटा विभिन्न विधामा अवार्ड वितरण गरिनेछ। प्रत्येक विधामा १०–१० जना क्रिएटरलाई मनोनयन गरिनेछ। ग्राण्ड फिनाले हुने सटीक स्थान भने पछि घोषणा गरिनेछ।

प्रतियोगिताको मूल्यांकनका लागि चार जना अनुभवी निर्णायक तोकिएका छन् — कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र पत्रकार टेक नारायण भट्टराई।

कार्यक्रमको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेन्मेन्टले गरिरहेको छ। सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेको यस समयमा क्रिएटरहरूको मेहनत र योगदानलाई राष्ट्रिय स्तरमा औपचारिक मान्यता दिनु यस कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकले बताएका छन्। कार्यक्रमसम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.