समाचार

प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आह्वान : नेपालको विकासमा लगानी गर्न आउनुस्

By अर्जुन भट्टराई •

प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आह्वान : नेपालको विकासमा लगानी गर्न आउनुस्

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकास र लगानीमा सक्रिय साझेदार बन्न आग्रह गरेका छन् । उनले भने, ‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यता स्पष्ट छ — त्यसमा ढुक्क हुनुहोस् ।’

शनिबार अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले गैरआवासीय नेपालीसँगको सम्बन्धलाई थप मजबुत बनाउने नीति लिएको जानकारी दिए ।

उनले प्रवासी नेपालीहरूलाई नेपालको विकास र लगानी विस्तारका ‘सद्भावना दूत’ को संज्ञा दिँदै भने, ‘तपाईंहरू हाम्रा सद्भावना दूत हुनुहुन्छ । आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा प्रभावकारी सहजकर्ता हुनुहुन्छ ।’

चालु आर्थिक वर्षको बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन, बजेट वितरण र लगानी वातावरणमा सुधारका पहल गरिएको बताउँदै उनले नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए । साथै, अस्ट्रेलियासहित विदेशमा रहेका नेपालीहरूलाई आफ्नै वा विदेशी लगानी नेपाल भित्र्याउन पहल गर्न उनले अनुरोध गरे ।

अर्थमन्त्री वाग्लेले सरकारले गैरआवासीय नेपाली लक्षित एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणाहरू अघि सारेको उल्लेख गर्दै भने, ‘डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन् ।’

सरकारी कोषभन्दा बाहिरका स्रोतसमेत परिचालन गरी अर्थतन्त्रको पुनरुत्थान गर्ने लक्ष्य रहेको बताउँदै उनले प्रवासी नेपालीहरूलाई थप सहजीकरण आवश्यक भएका क्षेत्रहरूमा स्पष्ट सुझाव दिन पनि आग्रह गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.