मनोरंजन

सञ्जय राईको पहिलो निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी आरएल शाह

By अर्जुन भट्टराई •

सञ्जय राईको पहिलो निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी आरएल शाह

काठमाडौं । युके निवासी सञ्जय राईको पहिलो निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’ बन्ने भएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सिनेमाको आधिकारिक घोषणा गर्दै कलाकार र प्राविधिक टोली पनि सार्वजनिक गरियो ।

लामो समयदेखि सिनेमा मेकिङ र निर्देशनप्रति गहिरो रुचि राख्दै आएका सञ्जय राईका लागि यो उनको पहिलो निर्देशकीय यात्रा हो । युकेमा बस्दाबस्दै पनि उनले आफ्नो सिनेमाप्रतिको जोश र लगनलाई जीवित राखेका थिए ।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको यस सिनेमामा अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा देखिनेछिन् । उनी सिनेमामा ‘आश’ नामक पात्रको रूपमा प्रस्तुत हुनेछिन् । निर्माण टिमले उनको बोल्ड लुकसहितको तस्बिर सार्वजनिक गर्दै यो खुलासा गरेको छ ।

केही समयको अन्तरालपछि नयाँ सिनेमामा फर्केकी साम्राज्ञीले भनिन्, ‘मनपर्ने क्यारेक्टर नपाएकाले सिनेमामा ग्याप आएको थियो, तर यस सिनेमाको पात्र मन परेपछि काम गर्न तयार भएँ ।’ उनले आफ्नो पात्र साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको बताउँदै यसलाई लिएर आफू निकै उत्साहित रहेको जानकारी दिइन् ।

‘सुरुमा केही आनाकानी गरिरहेको थिएँ, तर निर्देशकले क्यारेक्टरबारे विस्तारमा बताएपछि मेरो सोच बदलियो,’ उनले भनिन्, ‘स्क्रिप्ट पढेपछि म छक्क परेँ । उहाँले मेरो भिजनसँग नै मिल्ने गरी त्यो पात्र विकास गर्नुभएको रहेछ ।’

सिनेमाको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ, जसले जित, हार र सफलताको यात्रालाई प्रतिबिम्बित गर्छ । निर्देशक सञ्जय राईका अनुसार यो सिनेमा युवापुस्ताको कथामा आधारित छ र सामाजिक सञ्जालको जमाना, प्रेम, सम्बन्ध तथा जीवनका उतारचढावलाई केन्द्रमा राखेर बनाइनेछ ।

सिनेमाको प्राविधिक टोलीमा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । छायांकन नरेन्द्र मैनाली गर्नेछन् भने संगीत निकेश कार्की र रोमन बज्राचार्यले सम्हाल्नेछन् । स्टाइलिस्ट आशिम रानाभाट र सम्पादन सुनिल शिवभक्तिले गर्नेछन् । सिनेमाको छायांकन आगामी फागुन महिनाबाट सुरु हुनेछ ।

घोषणा कार्यक्रममा कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको बताइन् । सिनेमामा ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रका लागि अडिसन खुला गरिएको छ भने अन्य कलाकार तथा थप विवरण आगामी दिनहरूमा सार्वजनिक गरिनेछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.