धनगढी । धनगढीमा २४औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग औपचारिक वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित सरकारी समिति धनगढी पुगेको छ। समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव पनि सदस्यका रूपमा रहेका छन्।
सरकारी टोलीले शनिबार डा. केसीसँग सामान्य भेट मात्रै गरेको थियो। औपचारिक वार्ता भने आइतबार हुने भएको छ। डा. केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार केसीका तर्फबाट माग स्पष्ट रूपमा अघि सारिसकिएको छ, त्यसमा सरकारी टोली कसरी प्रस्तुत हुन्छ भन्ने नै मुख्य विषय हुनेछ।
‘डा. साबले उठाउनुभएका विषयमा सरकार कति गम्भीर छ भन्ने कुरा महत्त्वपूर्ण हो,’ जैसीले भने, ‘केसी आफ्ना माग र कुराबाट पछि हट्ने अवस्थामा हुनुहुन्न।’
डा. केसी बिहीबारदेखि ७ बुँदे माग राख्दै सत्याग्रहमा बसेका छन्। उनका प्रमुख मागहरूमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई हटाएर नयाँ नियुक्ति गर्नुपर्ने माग पहिलो स्थानमा छ।
यसका साथै चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा मापदण्ड र पूर्वाधार नपुगेका निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग पनि उनले राखेका छन्। चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन कानुनी प्रावधानहरू कार्यान्वयन गर्नुपर्ने उनको तेस्रो माग हो।
अन्य मागहरूमा विगतमा सरकारसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, सीमावर्ती तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गर्नुपर्ने, र भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने रहेका छन्।
