काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय स्थल वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उक्त आउटलेटको उद्घाटन गरे ।
आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने यस क्षेत्रलाई लक्षित गरी स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा दुग्धजन्य उत्पादन सहजै पाउन सक्नेछन् । स्थानीय बासिन्दाका साथै स्वदेशी र विदेशी पर्यटकलाई समेत सेवा दिने लक्ष्य डिडिसीले लिएको छ ।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै महाप्रबन्धक डा. पाण्डेले भने कि डिडिसीले उपभोक्ताको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिरहेको छ । उनका अनुसार साउन महिनाभरि नयाँ अवधारणा र नयाँ मोडेलका साथ सेवा प्रदान गरिनेछ ।
उपभोक्ताको माग पूरा गर्न काठमाडौं उपत्यकाभित्र ३० भन्दा बढी स्थानमा आउटलेट विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । साथै निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरहरूमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको उनले उल्लेख गरे ।
गुणस्तरीय उत्पादन उपभोक्ताको नजिक पुर्याउने उद्देश्यका साथ डिडिसीले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको संस्थाले जनाएको छ ।
