काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने तयारी तीव्र पारेको छ।
महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सव नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु पुर्याउने ऐतिहासिक अभियानका रूपमा मनाउने जनाएको छ।
नेफिनका अध्यक्ष निमा ह्योल्मो लामाका अनुसार खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता गराई दिवसलाई अधिकार प्राप्तिको सशक्त आन्दोलनका रूपमा स्थापित गर्ने तयारी भइरहेको छ। यो कार्यक्रमले नेपालका आदिवासी जनजातिको एकता, विविधता र साझा अधिकारको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने उनले बताए।
महासंघका उपाध्यक्ष तथा प्रचार-प्रसार समितिका संयोजक अमृत बहादुर सुनुवारले यस पटकको दिवसमार्फत विश्वलाई एउटा स्पष्ट सन्देश दिने किसिमले तयारी भइरहेको बताए। उनका अनुसार यस पटक आदिवासी दिवस साँस्कृतिक तथा परम्परागत खानाका परिकारहरूको महोत्सवका रूपमा पनि आयोजना हुनेछ।
महासंघका महासचिव विमल सारु मगरले काठमाडौं उपत्यकामा मात्रै करिब २० लाख आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यसहित नयाँ शैलीमा कार्यक्रम आयोजना गर्न खुलामञ्च रोजिएको बताए।
कार्यक्रमको तयारीलाई प्रभावकारी बनाउन २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। विभिन्न जातीय सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समितिहरू, युवा, महिला, विद्यार्थी तथा सांस्कृतिक समूह सक्रिय रूपमा जुटेका छन्।
**संस्कृति, पहिचान र मौलिकताको विराट उत्सव**
यो दिवस नेपालका ५६ भन्दा बढी आदिवासी जनजातिको मौलिक संस्कृति, कला, परम्परा र जीवनशैली एकै ठाउँमा अवलोकन गर्न सकिने विशेष अवसर बन्ने अपेक्षा छ। कार्यक्रममा परम्परागत खानाका परिकारको प्रदर्शनी तथा बिक्री, हस्तकला, जातीय पोशाक, मौलिक बाजागाजा र जीवनशैली झल्काउने प्रदर्शनी राखिनेछ। विभिन्न जातीय समुदायका कलाकारहरूले मौलिक सांस्कृतिक नृत्य, गीत र बाजागाजाका माध्यमबाट नेपालको आदिवासी विविधतालाई जीवन्त रूपमा प्रस्तुत गर्नेछन्।
**भाषा, संस्कृति र अधिकारको साझा आवाज**
दिवसको अवसरमा मातृभाषा संरक्षण, भाषा पत्रकारिता, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा अधिकार, भूमि, पहिचान, समानुपातिक सहभागिता, सामाजिक न्याय र संविधानप्रदत्त अधिकारका विषय विशेष रूपमा उठाइनेछन्। नेपालमा ५९ मान्यताप्राप्त आदिवासी जनजाति समुदाय रहेका छन् र प्रत्येकको आफ्नै भाषा, संस्कृति, इतिहास र जीवनशैली छ।
कार्यक्रममा नेपालका आदिवासी आन्दोलनले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धि, संविधानमा आदिवासी जनजातिको पहिचान, अन्तर्राष्ट्रिय श्रम संगठन तथा संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्रका विषयमा पनि चर्चा हुनेछ। अझै प्राप्त हुन बाँकी अधिकारका विषयमा साझा प्रतिबद्धता व्यक्त गरिने जनाइएको छ।
नेफिनले सम्पूर्ण आदिवासी जनजाति समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक विविधता र आदिवासी अधिकारको अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।
