समाचार

वालेट अद्यावधिक गर्न अब राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

By अर्जुन भट्टराई •

वालेट अद्यावधिक गर्न अब राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट सेवासम्बन्धी नियममा महत्त्वपूर्ण परिवर्तन गरेको छ। अब वालेट खोल्दा र अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

शुक्रबार जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधनअनुसार नेपाली नागरिकले वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्ने भएको हो।

राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र सबै वालेट प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी स्वघोषणा लिनुपर्ने व्यवस्था गरेको छ। यसैगरी राष्ट्रिय परिचयपत्र बनाइसकेका प्रयोगकर्ताले पनि सोही अवधिभित्र आफ्नो वालेटमा परिचयपत्र नम्बर अद्यावधिक गर्नु अनिवार्य हुनेछ।

विदेशमा बस्ने नेपालीका लागि भने हालको व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन। उनीहरू पहिलेझैँ अनलाइनमार्फत वालेट खोल्न सक्नेछन्, तर नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।

अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्र बैंकले विशेष सहुलियत दिएको छ। यस्ता नागरिकसँग राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न पाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.