समाचार

राष्ट्रिय विभूतिहरूको आदर्शबाट प्रेरणा लिई देशको स्वाभिमान जोगाउन जोड

By अर्जुन भट्टराई •

राष्ट्रिय विभूतिहरूको आदर्शबाट प्रेरणा लिई देशको स्वाभिमान जोगाउन जोड

काठमाडौं। अमरसिंह थापा र भीमसेन थापाजस्ता राष्ट्रिय विभूतिहरूको योगदान सम्झँदै उनीहरूको आदर्शबाट प्रेरणा लिएर देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अस्मिता संरक्षण गर्नुपर्ने आवाज उठेको छ।

बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले राष्ट्रिय विभूति वीर योद्धा बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस तथा मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीको अवसरमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखे।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. राम थापा क्षेत्रीले राष्ट्रिय विभूति भीमसेन थापाले नेपालको इतिहासमा अतुलनीय योगदान पुर्याएको भन्दै उनको देशभक्ति, इमानदारिता, नैतिकता र अदम्य साहस आजका लागि पनि उत्तिकै अनुकरणीय रहेको बताए।

उनले भने, ‘गोरखामा जन्मेका राष्ट्रिय विभूति भीमसेन थापाले नेपालको इतिहासमा धेरै महत्वपूर्ण काम गर्नुभयो। उहाँले आफ्नो जीवनकालमा देशभक्ति, इमानदारिता, नैतिकता र अदम्य साहस देखाउनुभयो। त्यसकै फलस्वरूप हामी सुगौली सन्धिपश्चातको वर्तमान नेपालमा बाँचिरहेका छौं।’

डा. थापाले नालापानी, सिन्धुलीगढी र किल्ला–काँकडालगायत ऐतिहासिक युद्धस्थलमा नेपाली वीरहरूले देशको स्वतन्त्रता र स्वाभिमानका लागि आफ्नो रगत बगाएको स्मरण गर्दै सुगौली सन्धिपछि पनि नेपालको अस्तित्व कायम रहनुमा वीर पुर्खाहरूको बलिदान निर्णायक रहेको बताए।

कार्यक्रममा वरिष्ठ चिकित्सक प्रा. डा. बुद्धिबहादुर थापाले आफ्नो लामो चिकित्सकीय सेवायात्राको अनुभव साझा गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेको र क्षेत्री अस्पतालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उक्त अस्पताललाई सरकारी स्वामित्वमा ल्याई गण्डकी प्रदेशकै प्रतिष्ठित स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने तथा एमडीएस अध्ययन सुरु गर्ने प्रक्रियामा पनि आफूले संस्थापक नेतृत्व गरेको उनले जानकारी दिए।

सँगै, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको व्यवस्थापन तथा फोक्सोसम्बन्धी रोग उपचार सेवाको विकासमा पनि आफूले सक्रिय योगदान दिएको उनले बताए। स्वास्थ्य क्षेत्र र सामाजिक सेवामा पुर्याएको योगदानका लागि विभिन्न संघसंस्थाबाट सम्मान तथा पुरस्कार पाएको पनि उनले उल्लेख गरे।

प्रा. डा. थापाले कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी तथा धवलागिरि क्षेत्रका बगाले थापा समुदायका गतिविधिमा आफू सक्रिय रहँदै आएको जनाउँदै आगामी साउन १६ गते पोखरामा हुने महाराज अमरसिंह थापाको जन्मजयन्ती कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरे।

कार्यक्रमका वक्ताहरूले राष्ट्रिय विभूतिहरूले देखाएको त्याग, समर्पण र राष्ट्रभक्तिबाट प्रेरणा लिएर नेपालको स्वाभिमान, अस्मिता र राष्ट्रिय एकता जोगाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.