काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) को प्रतिष्ठित ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड आफ्नो नाममा पार्न सफल भएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स–२०२६’ कार्यक्रममा बैंकका सञ्चालक मलय मुखर्जीले यो सम्मान ग्रहण गरे ।
यस पुरस्कारमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी थिए । भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था आइसीसीले बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूलाई वार्षिक रूपमा यस्तो सम्मान प्रदान गर्दै आएको छ ।
बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले यो अन्तर्राष्ट्रिय अवार्ड नबिल बैंकका लागि गौरवको विषय भएको बताए । उनले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
बैंकका अनुसार ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको हो । यस सम्मानले बैंकिङ सेवा, नवप्रवर्तन र ग्राहकमुखी सेवाको गुणस्तर अझ सुदृढ पार्न थप प्रेरणा मिल्ने बैंकको विश्वास छ ।
यसअघि पनि नबिल बैंकले युरोमनी अवार्ड्स फर एक्सेलेन्स अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि हासिल गरिसकेको छ । सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा ती अवार्ड प्रदान गरिएका थिए ।
निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित नबिल बैंकले हाल देशभर फैलिएका २६४ शाखा र ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको यस बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत समावेशी तथा दिगो वित्तीय सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ ।
