मुगु। मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान करिब ४ बजे ढुङ्गासहितको पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ। यस घटनामा उनका बुबा र आमा पनि घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल बिहान गहिरो निद्रामा सुतिरहेका बेला माथिबाट ढुङ्गासहितको पहिरो आएर घरमा खसेको थियो।
घटनामा जगनाथ र सृजनालाई सामान्य चोटपटक लागेको छ। उनीहरू आफैं उपचारका लागि पुलु स्वास्थ्य चौकी पुगेका छन् र हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पहिरोमा च्यापिएका तीन वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुका प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको पाँच सदस्यीय प्रहरी टोली र स्थानीयवासीले मिलेर उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएका थिए। सुरुमा उनको अवस्था मध्यम बताइएको थियो, तर बिहान करिब ५ः४५ बजे उपचारकै क्रममा चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरे।
पहिरोले बडुवाल परिवार बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यसका साथै घटनास्थल वरपरका अन्य ८ वटा घर पनि उच्च जोखिममा परेका छन्। ती घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। अधिकांशलाई पुलु बजारमै आफन्तको घरमा राखिएको छ भने सात–आठ जनालाई पुलु स्वास्थ्य चौकीमा अस्थायी आश्रय दिइएको छ।
घटनास्थल प्रहरी चौकी डोल्फु पुलुबाट करिब ३०० मिटर पश्चिममा पर्छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
