काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ सवारी चालकमाथि कारबाही गरेको छ।
साउन ९ गते बिहान ६ बजेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी अन्य विविध ट्राफिक कसुरमा ७३७ जना कारबाहीमा परेका छन्। त्यसपछि तीव्र गतिमा सवारी चलाउनेमा ११३ जना र मादक पदार्थ सेवन गरी (मापसे) सवारी चलाउने तथा लेन अनुशासन उल्लंघन गर्ने गरी प्रत्येकमा ८७ जना कारबाहीमा परेका छन्।
यसका अतिरिक्त एकतर्फी (वन–वे) नियम उल्लंघन गर्ने ३४ जना, हर्नको दुरुपयोग गर्ने ३३ जना, रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने ३२ जना, अवस्था ठीक नभएका २१ वटा सवारी साधन र यान्त्रिक खराबी भएका ७ वटा सवारी साधनमाथि पनि कारबाही भएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित निगरानी र कारबाही अभियान जारी रहेको बताउँदै सबै चालकलाई ट्राफिक नियमको इमानदारीसाथ पालना गर्न आग्रह गरेको छ।
