अर्थ

होङशी शिवम् सिमेन्टको ९ महिनामै १० अर्ब ३१ करोडभन्दा बढीको व्यापार

By अर्जुन भट्टराई •

होङशी शिवम् सिमेन्टको ९ महिनामै १० अर्ब ३१ करोडभन्दा बढीको व्यापार

काठमाडौं। नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको आम्दानीमा उत्साहजनक सुधार देखिएको छ। सिमेन्टको मूल्यमा भएको वृद्धिसँगै कम्पनीको व्यापार पुनः लयमा फर्किएको हो।

रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गर्‍यो। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १० अर्ब ९६ करोड ७० लाख रुपैयाँको तुलनामा करिब २१ प्रतिशत बढी हो।

आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो।

आम्दानी बढ्नुको मुख्य कारण सिमेन्टको बिक्री मूल्यमा भएको वृद्धि र उद्योगको विशाल उत्पादन क्षमता हो। वार्षिक २३ लाख मेट्रिक टन सिमेन्ट र २० लाख मेट्रिक टन क्लिंकर उत्पादन क्षमता भएको यो उद्योगले बजारमा आफ्नो पकड थप बलियो बनाउँदै लगेको छ। बजारमा सिमेन्टको मागमा आएको क्रमिक सुधार र कम्पनीको प्रतिस्पर्धी मूल्य निर्धारण क्षमताले पनि आम्दानी बढाउन सघाएको विश्लेषण गरिएको छ।

तर, कम्पनीमा ग्राहक एकाग्रताको जोखिम उच्च रहेको छ। कम्पनीको कूल क्लिंकर बिक्रीको शतप्रतिशत र सिमेन्ट बिक्रीको ३५ प्रतिशत हिस्सा शीर्ष १० ठूला ग्राहकमा मात्रै निर्भर छ। यसले गर्दा माग घट्दा वा ठूला ग्राहकसँगको सम्बन्धमा परिवर्तन आउँदा आम्दानीमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम रहन्छ।

आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब २० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको व्यापार त्यसपछिका दुई वर्षमा घटेको थियो। तर, पछिल्लो डेढ वर्षमा देखिएको बढ्दो प्रवृत्तिले उद्योग पुनः पुरानै गतिमा फर्किन थालेको संकेत दिन्छ। इक्रा नेपालका अनुसार, निर्माण सामग्रीको मागमा यसैगरी सुधार जारी रही सिमेन्टको मूल्य स्थिर रहेमा कम्पनीको आम्दानी र नाफाको अवस्था अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.