समाचार

हरिशयनीदेखि हरिवोधिनीसम्म : तुलसी रोपण, व्रत र विवाहको शास्त्रीय परम्परा

By अर्जुन भट्टराई •

हरिशयनीदेखि हरिवोधिनीसम्म : तुलसी रोपण, व्रत र विवाहको शास्त्रीय परम्परा

काठमाडौं । हरिशयनी एकादशी हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । यसै दिनदेखि भगवान विष्णु चार महिनाका लागि योगनिद्रामा जाने धार्मिक विश्वास रहिआएको छ । यही अवसरमा घर–घरमा तुलसी रोप्ने र नियमित पूजा–आराधना गर्ने परम्परा पनि प्रचलित छ ।

यो परम्परा केवल तुलसीको पूजामा मात्र सीमित नभई प्रकृतिप्रतिको सम्मान र संरक्षणसँग पनि जोडिएको छ । धार्मिक मान्यताअनुसार भगवान विष्णु योगनिद्रामा रहँदा उनको दिव्य शक्ति तुलसीमा आविर्भाव हुन्छ भन्ने विश्वास गरिन्छ ।

हरिशयनी एकादशीमा रोपिएको तुलसीको चातुर्मासभर श्रद्धापूर्वक पूजा गरिन्छ । त्यसपछि हरिवोधिनी एकादशीका दिन भगवान विष्णु योगनिद्राबाट जागृत हुने विश्वासका साथ तुलसी विवाह सम्पन्न गर्ने शास्त्रीय परम्परा रहेको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उपप्राध्यापक डा. नारायण प्रसाद निरौलाले शास्त्रले निर्देश गरेका विधि, कर्म र आचारलाई श्रद्धापूर्वक पालन गर्नु नै धार्मिक परम्पराको मूल आधार रहेको बताए । उनले संक्रान्ति तथा अन्य पुण्यकालमा स्नान, शुद्धता, दान र धार्मिक आचरणको विशेष महत्व रहेको पनि उल्लेख गरे ।

यस वर्ष हरिशयनी एकादशी साउन महिनामा पर्नुको कारण बताउँदै डा. निरौलाले चन्द्रमास र सौरमासबीचको अन्तर तथा यस वर्ष अधिकमास परेकाले यस्तो भएको स्पष्ट पारे । उनले भने, ‘मूलतः चन्द्र र सौर गरी दुई प्रकारका महिनाहरू हुन्छन् । धार्मिक कर्महरूमा चन्द्रमासको उपयोग गरिन्छ । यस वर्ष जेठमा अधिकमास परेकाले तुलसी रोप्ने दिन साउनमा पुगेको हो ।’ उनका अनुसार आगामी वर्ष भने यो पर्व पुनः असार महिनामा नै पर्नेछ ।

आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी भनिनुको कारण पनि उनले विस्तारमा बताए । उनका अनुसार हाम्रो एक वर्षमा देवताको एक दिनरात हुन्छ र श्रावणबाट देवताको रात आरम्भ हुन्छ । यसैले यो समयमा भगवान विष्णु पनि शयन गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

हरिशयनी एकादशीदेखि हरिवोधिनी एकादशीसम्मको चार महिनालाई भगवान विष्णुको योगनिद्राको अवधि मानिन्छ । यस अवधिलाई चतुर्मास भनिन्छ र यसमा व्रत, पूजा तथा भगवान विष्णुको आराधना गर्दा विशेष पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रहेको डा. निरौलाले बताए ।

उनले भने, ‘हरिशयनी एकादशीमा तुलसी रोपण गरिन्छ, त्यसपछि चार महिना सेवा–आराधना गरिन्छ र हरिवोधिनी एकादशीमा तुलसी विवाह गरिन्छ । यो शास्त्रीय व्यवस्था नै हो ।’

तुलसीलाई भगवान विष्णुको प्रतीकका रूपमा मानिन्छ । हिन्दू धर्ममा ब्रह्मा, विष्णु र महेशलाई क्रमशः सृष्टि, पालन र संहारका देवताका रूपमा स्वीकार गरिने भएकाले तुलसी र भगवान विष्णुबीच गहिरो धार्मिक सम्बन्ध रहेको डा. निरौलाको भनाइ छ । उनले थपे कि प्रत्येक एकादशीको आ–आफ्नै धार्मिक महत्व रहेको भए पनि हरिशयनी र हरिवोधिनी एकादशीलाई हिन्दू शास्त्रमा विशेष पर्वका रूपमा वर्णन गरिएको छ । कामिका एकादशी भने मनोकामना पूरा हुने विश्वाससँग जोडिएको उनले बताए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.