समाचार

जटिल रोगको उपचारमा सहजता: ह्याम्स र म्याक्स अस्पतालबीच प्रभावकारी सहकार्य

By अर्जुन भट्टराई •

जटिल रोगको उपचारमा सहजता: ह्याम्स र म्याक्स अस्पतालबीच प्रभावकारी सहकार्य

काठमाडौं। नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा दुवै अस्पतालका वरिष्ठ चिकित्सकहरूले अत्याधुनिक उपचार प्रविधि, जटिल रोग व्यवस्थापन र चिकित्सा क्षेत्रका नवीनतम अभ्यासबारे अनुभव आदानप्रदान गरे।

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, ‘ह्याम्समा उपलब्ध सबै सेवा यहीँ प्रदान हुन्छ। तर नेपालमा उपलब्ध नभएका केही सुपर–स्पेसियालिटी उपचार आवश्यक परे बिरामीलाई म्याक्स अस्पतालमार्फत सहज रूपमा उपचारको व्यवस्था गरिन्छ।’

उनका अनुसार यो सहकार्यले विदेशमा उपचार गर्न जाने बिरामीलाई आर्थिक, व्यवस्थापकीय र उपचारपछिको सेवामा ठूलो सहजता दिनेछ। म्याक्स अस्पतालमा जाने बिरामीले उपचार शुल्कमा विशेष छुट पाउनुका साथै उपचार सकिएपछि नेपाल फर्किएर ह्याम्समै नियमित फलोअप सेवा लिन पाउने व्यवस्था गरिएको छ। यसले बिरामीलाई पटकपटक भारत धाउनुपर्ने झन्झटबाट मुक्ति दिनेछ।

भण्डारीले यो सहकार्य नेपाल वा भारत सरकारको पहलमा नभई दुई निजी स्वास्थ्य संस्थाबीचको व्यावसायिक सहकार्य भएको स्पष्ट पारे। नेपालको जनसंख्या र स्वास्थ्य सेवा बजारको आकारका कारण केही अत्याधुनिक प्रविधि नेपालमा सञ्चालन गर्न आर्थिक रूपमा सम्भव नभएकाले त्यस्ता सीमित सेवाका लागि यो सहकार्य आवश्यक भएको उनले बताए।

‘बिरामीलाई कसरी कम खर्चमा, कम झन्झटमा र सुरक्षित रूपमा उपचार उपलब्ध गराउन सकिन्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने।

ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले सीएमई कार्यक्रम चिकित्सकहरूको ज्ञान र सीप बढाउने महत्त्वपूर्ण माध्यम भएको बताए। कार्यक्रममा म्याक्स अस्पतालका मुटु तथा फोक्सो रोग विशेषज्ञ, नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र फोक्सो तथा थोरासिक सर्जन डा. रञ्जनलगायतले वैज्ञानिक कार्यपत्र प्रस्तुत गरे।

डा. शर्माका अनुसार ह्याम्स र म्याक्सबीचको यो सहकार्य एक वर्षभन्दा बढी समयदेखि सञ्चालनमा छ। यस अन्तर्गत चिकित्सक तथा स्वास्थ्यकर्मीको तालिम, जनशक्ति आदानप्रदान, जटिल बिरामीको संस्थागत रिफरल र आधुनिक उपचार प्रविधिको अनुभव साटासाट हुँदै आएको छ।

उनले थपे कि नेपालमा अधिकांश रोगको उपचार सम्भव भए पनि हार्ट ट्रान्सप्लान्ट, लङ ट्रान्सप्लान्ट र एलभीएडी जस्ता अत्याधुनिक सेवा अझै उपलब्ध नभएकाले त्यस्ता बिरामीका लागि यो सहकार्य विशेष लाभदायी छ।

‘हामी बिरामीलाई विदेश पठाउन चाहँदैनौं। जहाँ नेपालमै उपचार सम्भव छ, त्यहीँ गर्छौं। तर यहाँ उपलब्ध नभएका सेवाका लागि बिरामीलाई सहज, सुरक्षित र कम खर्चिलो विकल्प उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरिएको हो,’ डा. शर्माले भने।

यस सहकार्यबाट नेपाली चिकित्सकले अत्याधुनिक प्रविधिमा तालिम र अनुभव पाउने अवसर पनि बढ्ने भएकाले दीर्घकालमा नेपालको स्वास्थ्य सेवाको समग्र गुणस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.