समाचार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, सेती अस्पतालको आइसीयूमा सारियो

By अर्जुन भट्टराई •

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, सेती अस्पतालको आइसीयूमा सारियो

धनगढी । बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सेती अस्पतालको आइसीयू (सघन उपचार कक्ष) मा सारिएको छ।

उनका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसीको रगतमा सुगर लेवल ४९ मा झरेको छ भने रक्तचाप (प्रेसर) पनि एकसयमा ओर्लिएको छ। साथै शरीरमा पोटासियमको मात्रा पनि कम भएको जैसीले जानकारी दिए।

डा. केसीले भने सुगरको औषधि लिन अस्वीकार गरेका छन्। आफू अनसनमा रहेकाले अनसनअनुसार नै औषधि प्रयोग गर्न केसीले आग्रह गरेको जैसीले बताए। सेती अस्पतालका डा. गजेन्द्र दुवालको नेतृत्वको टीमले डा. केसीको स्वास्थ्यको निरन्तर निरीक्षण गरिरहेको छ।

शुक्रबार साँझ शिक्षा तथा खेलकुदमन्त्री अस्मित पोखरेलले डा. केसीका सहयोगी जैसीसँग छलफल गरे। त्यसपछि राति करिब ११ बजे मन्त्री पोखरेलले डा. केसीसँग सिधै टेलिफोनमा पनि कुरा गरे। उक्त संवादमा मन्त्रीले डा. केसीका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।

संवादका क्रममा डा. केसीले आफ्नो पाँचबुँदे मागका साथै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गर्नु, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नु र स्वार्थप्रेरित तरिकाले गरिएका उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने आफ्नो मुख्य अडान रहेको स्पष्ट पारे।

मन्त्री पोखरेलले ती विषयमा वार्ता टोली गठन गर्ने र आवश्यक परेमा आफू नै धनगढी आउने प्रतिबद्धता व्यक्त गरेको सहयोगी जैसीले बताए।

यता, डा. केसी अनसनरत रहेको कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर शनिबार बिहान स्थानीयबासीले प्रदर्शन गरे। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणमा षडयन्त्र भएको आरोप लगाउँदै स्थानीयहरूले डा. केसीविरुद्ध उक्त प्रदर्शन गरेका थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.