अर्थ

बुद्ध एयरको नयाँ एटीआर–७२–६०० जहाज नेपाल आइपुग्यो, अर्को महिनादेखि उड्ने

By अर्जुन भट्टराई •

बुद्ध एयरको नयाँ एटीआर–७२–६०० जहाज नेपाल आइपुग्यो, अर्को महिनादेखि उड्ने

काठमाडौं। बुद्ध एयरले फ्रान्सको तुलुसबाट नयाँ सिरिजको एटीआर–७२–६०० जहाज नेपाल भित्र्याएको छ। शनिबार आइपुगेको यो जहाज आवश्यक कागजी प्रक्रिया पूरा भएपछि आगामी महिनादेखि व्यावसायिक उडानमा ल्याइनेछ।

नयाँ जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री मानिएको छ भने अघिल्लो सिरिजको तुलनामा ध्वनि प्रदूषण पनि कम हुने दाबी कम्पनीले गरेको छ।

यस जहाजमा आरएनपी–एआर (आवश्यक नेभिगेसन कार्यसम्पादन–विशेष स्वीकृती आवश्यक) एप्रोच प्रणाली जडान गरिएको छ। यस प्रणालीको सहायताले काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर मात्र भिजिबिलिटी हुँदा पनि सुरक्षित अवतरण गर्न सकिनेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यही प्रणाली लागू गर्ने सम्भावनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरिरहेको छ।

कम्पनीका अनुसार यो नयाँ प्रविधिले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घटाउनेछ, उडान सुरक्षामा सुधार ल्याउनेछ र हवाई सेवाको विश्वसनीयता बढाउनेछ।

बुद्ध एयरले अर्को एटीआर–७२–६०० जहाज अगस्ट अन्त्य वा सेप्टेम्बरको सुरुतिर भित्र्याउने तयारी गरेको छ। यसका अतिरिक्त आगामी केही महिनाभित्र यही सिरिजका थप दुई जहाज थप्ने योजना पनि कम्पनीसँग रहेको छ।

हाल बुद्ध एयरसँग एक एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एक एटीआर–७२–६०० गरी जम्मा १७ वटा जहाज सञ्चालनमा छन्। कम्पनीले आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान सञ्चालन गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौं–वाराणसी र काठमाडौं–कोलकाता मार्गमा नियमित उडान जारी राखेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.